रत्ननगर,जेठ ३१- रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ र १६ का ४९ वटा टोलविकास संस्थाका झण्डै २०० जना प्रतिनिधिहरूलाई सचेतना प्रदान गरेको हो।
- ADVERTISEMENT -
मंगलबार वडा नं. १६ बाट सुरु भएको सचेतना कार्यक्रम हिजो बुधवार वडा नं. १४ र आज विहिवार वडा नं. १५ मा सम्पन्न भएको छ।
- ADVERTISEMENT -
संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले, पछिल्ला दिनहरुमा गरिएको धारा अनुगमनको क्रममा ३० प्रतिशत भन्दा बढी उपभोक्ताहरुले खानेपानीको धाराको सरसफाईमा ध्यान नदिएको पाईएको जानकारी दिए। त्यसैले खानेपानीको मिटर र धारा वरपर फोहोर पानी जमेका कारण महामारी फैलनसक्ने अवस्था देखिएकाले सचेतना कार्यक्रम गरिएको उनले बताए ।
- ADVERTISEMENT -
विहीबार वडा नं . १५ मा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष आशिक तामाङले सबै उपभोक्ता सकारात्मक भएर सरसफाई लगायत कार्यमा सहयोग नगर्ने हो भने माहामारीजन्य रोगका कारण ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम रहेको बताए।
- ADVERTISEMENT -
कार्यक्रमका सहभागीहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व ईन्जिनियर तथा चितवन जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र अभियानका संयोजक शिवराज न्यौपाने र स्वास्थ्यका लागि पानी र सरसफाई विज्ञ निशा प्रजाले सहजीकरण गरेका थिए ।
संस्थाका सचिव रुपेश तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
वि. सं.२०६७ सालमा स्थापना भएको संस्थाले आफ्ना ४३०० उपभोक्तालाई ११० किमी पाईपलाईन मार्फत दैनिक ३५ लाख लिटर पानी वितरण गरिरहेको छ।