चितवन, वैशाख ३१– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् ।
आज विहान चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा नेपालकै पहिलो सिग्नेचर पुलको शिलान्यास गरेका हुन् । प्रचण्डले जग पूजासंगै शिलालेख अनावरण गरेका थिए । सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे । चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको सिग्नेचर ब्रिज आकर्षक हुने बताइएको छ ।
- ADVERTISEMENT -
अत्याधुनिक प्रविधिमा आधारित यो पुल केबलस्टेड ब्रिज शैलीमा आधारित रहेर बन्नेछ । अहिले रहेको नारायणी नदीको पुल भन्दा उत्तर तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । करिब १ अर्ब ६८ करोड नेपाली रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा श्री तुँदी कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरिएको छ ।
- ADVERTISEMENT -
ठेक्का सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने छ । हाल भएको नारायणी नदीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको छ । नारायणी नदी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो ।
- ADVERTISEMENT -