चितवनमा आउने तरकारीमा अत्यधिक विषादीको प्रयोग

May 5, 2024

चितवन, वैशाख २३ – चितवन जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा विषादीको प्रयोग हुने पाइएको हो ।

कँडेलका अनुसार कतिपय तरकारी अत्यधिक विषादीको प्रयोगका कारण उपभोग गर्न नहुने अवस्थामा पाइएको छ । उनले भने “कार्बामेट र अर्गाना फस्फेटको मात्रा परीक्षणका क्रममा अत्यधिक देखिएको छ ।” उनका अनुसार यी दुवै तत्व तरकारीमा ३५ प्रतिशतभन्दा बढी भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने अवस्था हुन्छ ।

कृषि विकास कार्यालय मातहतमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा जिल्लामा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो । महानगर फलफूल तथा तरकारी थोकबजार, रत्ननगर, चनौली, भण्डारालगायत क्षेत्रमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको प्रयोग भेटिएको हो । जिल्लामा रहेका तीन सय ७४ वटा एग्रोभेटबाट विषादी बिक्री वितरण हुने गरेको उनले बताए ।

तरकारी र कृषिजन्य उत्पादनका लागि ती एग्रोभेटहरुले रोग नासक, कीरा नासन र भिटामिनको प्रयोग अत्यधिक हुने गरेको छ । उनका अनुसार विषादीको मात्रा, विषादीको प्रयोगको समय, विषादीको लेवल हेरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । तीन वटा विषादीको प्रयोग एकैपटक गर्दा मानिसको स्वास्थ्यसँगै उत्पादन र जमिनमा असर गर्ने उनले बताए ।

विषादीको प्रयोग अत्यधिक हुन थालेसँगै जनगुनासो बढेपछि कार्यालयले नियमन तथा अनुगमन गरी व्यवसायीलाई सचेत गराउँदै आएको उनले बताए ।