वीरगञ्ज, वैशाख १६- जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा रु ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।
पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।
- ADVERTISEMENT -
चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् छ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ
- ADVERTISEMENT -
चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु ७१ करोड सात लाख ८४ हजार तीन सय १४ छ । कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु तीन अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रहेको छ ।
- ADVERTISEMENT -
उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व संकलन गरेको जनाएको छ । गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए । दर्तामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१ थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ थियो ।
- ADVERTISEMENT -
त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५ छ । गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ ।
गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता रु चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ छ । कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन गरेको थियो ।
गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आँकलन गरिएको थियो ।