अटो दुर्घटनामा चालकसहित पाँच घाइते

April 18, 2024

भरतपुर, वैशाख ६- भरतपुर महानगरपालिका वडा नं-७, गौतम चोकस्थित भित्री सडकमा अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार पाँच जना घाइते भएका छन् ।

रिजाल चोकबाट शिवालय चोकतर्फ जाँदै गरेको ना १ ह ६९०५ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुर-८ गोरीगाउँ बस्ने ५० वर्षीय अटो चालक ज्ञानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ७४ वर्षीया भागीरथी सापकोटा, ५५ वर्षीया हरिकला न्यूरे, ७८ वर्षीया लीलावती न्यूरे र ७९ वर्षीय यमप्रसाद न्यूरे घाइते भएका छन् ।

घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अटो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।