भारी वर्षापछि दुबई बाढीको चपेटामा

April 17, 2024

दुबई , वैशाख ५- कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ ।

संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो ।

प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन् ।