नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्दा ‘शुल्क’ तिर्नुपर्ने, पेट्रोलियम गाडी र बाइकलाई प्रवेश निषेध

April 14, 2024

काठमाडौं, वैशाख २- नागढुङ्गा सुरुङमार्गसँगै सामानान्तर रुपमा निर्माण भएको आपातकालीन सुरुङमा सातवटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण भएको छ ।

मुख्य सुरुङमार्गमा सवारी साधन ओहोरदोहोर गर्दा हुने भवितव्य दुघर्टना, गाडी बिग्रने र समस्यामा पर्ने यात्रुलाई उद्दार गर्नका लागि समानान्तर रुपमा यो सुरुङ निर्माण गरिएको हो ।

मुख्य सुरुङमार्गभन्दा २० मिटरको दूरीमा देब्रेतर्फ सामानान्तर रुपमा निर्माण भएको आपातकालीन सुरुङको कुल लम्बाई २ किलोमिटर ५६ मिटर छ । साढे चार मिटर चौडाई र ५ मिटर उचाइ भएको यो सुरुङलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटरको दूरीमा क्रस प्यासेज निर्माण गरिएको छ ।

मुख्य सुरुङमार्गको भित्रि भाग भने १० मिटर चौडाइ र १२ मिटर अग्लो छ । फिनिसिङ्ग भएपछि चौडाई ९ मिटरमा झर्नेछ ।

आपतकालीन सुरुङको दायाँवायाँ र माथिल्लो भागमा पातलो ढलान गरिएको छ भने मुख्य सुरुङमार्गमा भने बाक्लो ढलान गरेर फलामे पाताले छाएकोजस्तै बनाइएको छ ।

मुख्य सुरुङमार्गमा कुनै भवितव्य घटना (दुघर्टना, यात्रु बिरामी, आगलागीलगायतका घटना) भएको अवस्थामा यहि ७ वटा क्रस प्यासेजमार्फत उद्दार टोली भित्र प्रवेश गर्ने छ ।

जोखिममा परेका सवारी साधन र यात्रुलाई उद्दार गर्ने तथा आगलागी भएको अवस्थामा आगो नियन्त्रण गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उद्दार गरिने यात्रुलाई तत्कालै सबैभन्दा नजिकको सुविधा सम्पन्न सतुङ्गलस्थित शसस्त्र प्रहरी बलको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । सडक विभागले डेडिकेटेड होस्पिटलको रुपमा उक्त अस्पतालसँग सहकार्य गरेको छ ।

सुरुङमार्गमा आगो नियन्त्रण गर्न फायर हाइड्रेन्ट पनि निर्माण भइरहेको छ । फायर हाइड्रेन्ट ओछ्याइएको पाइपको अहिले विभिन्न चरणमा परीक्षण गर्ने काम भइरहेको छ ।

यो भित्र पर्याप्त परिमाणमा अक्सिजन ओहोर दोहोर गर्ने गरी प्राविधिक कामलाई पनि तिव्रता दिइएको सहायक आवासीय इन्जिनियर असिम घिमिरेले जानकारी दिए । मुख्य सुरुङ मार्गभित्रमा केही दूरीको फरकमा खानेपानी, बत्ति, टेलिफोनको व्यवस्थाका साथै निगरानी राख्न सीसी क्यामेराको पनि व्यवस्था हुनेछ ।

उनकाअनुसार मुख्य सुरुङमार्गमा छुटेका एक/दुई स्थानमा लाइनिङ्ग कंक्रिट(मुख्य सुरुङमार्ग भित्रको माथिल्लो भाग) काम पनि धमाधम भइरहेको छ । माथिल्लो भागको लाइनिङ्ग कंक्रिटको काम सम्पन्न भएपछि तल्लो भागमा ३० सेन्टिमिटर मोटाइको इनविल्ट (ढलान) गर्ने काम सुरु हुनेछ । यस्तै आपतकालीन सुरुङभित्रको बाटोमा पनि यहि मोटाइको क्रंक्रिट ढलान गरिनेछ ।

मुख्य सुरुङमार्गको भित्री भागमा कालोपत्रेको स्थानमा बाक्लो ढलान हुनेछ । कालोपत्रे चाँडै भत्किने भएकाले ढलान गर्न लागिएको सापकोटाले बताए । ढलानसँगै दायाँ वायाँ भागमा पहिलेदेखि तयार पारिएको ढलसमेत जडान गरिनेछ ।

मुख्य सुरुङमार्गमा अगाडिको भाग (टोलगेट) देखि गुर्जुधारास्थित नेपाल टेलिकमको कार्यालयसम्म जोड्ने गरी सुरुको फ्लाईओभरको भागलाई जोडन करिब ५ किलोमिटर लामो कालोपत्रे सडक निर्माण भइरहेको छ ।

कुल ७ मिटर चौडाई भएको यो सडकमा २० सेन्टिमिटरभन्दा बाक्लो हुने गरी कालोपत्रे ओछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ । यो सडक साढे तीन–साढे तीन मिटरको गरी दुई लेनको निर्माण भइरहेको छ ।

‘अहिलेसम्मको कार्यतालिका अनुसार वैशाख ३ गते भोलि ब्रेक थ्रु गर्ने गरी योजना तय भएको छ,’ घिमिरेले भने, ‘ससाना कामहरु सम्पूर्ण रुपमा सम्पन्न गर्न अहिले पनि करिब १ वर्ष लाग्छ, त्यसपछि मात्रै सवारी साधन ओहोर दोहोर गर्न खुल्ला गरिनेछ ।’

उनका अनुसार सर्वसाधारणले मुख्य सुरुङमार्ग भने निःशुल्क रुपमा प्रयोग गर्न भने पाउने छैनन् । काठमाडौं तराई द्रुतमार्ग प्रयोग गरेवापत सर्वसाधारणले केहि शुल्क तिर्नुपर्ने मोडालिटीजस्तै यो सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले भने केहि शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।

‘यो सुरुङमार्ग प्रयोग गर्दा प्रयोगकर्ताले निश्चित केहि शुल्क तिर्नु पर्ने हुन्छ,’ घिमिरेले भने, ‘कति रकम तिर्नुपर्छ भनेर अहिले टुङ्गो लागेको छैन । यो बिषयमा विभिन्न मोडालिटीमा अहिले छलफल नै भइरहेको छ । टुङ्गो लागेपछि शुल्क तोकिनेछ ।’

यात्रुवाहक बस र सामान्य ट्रक मात्रै यो सुरुङमार्गमा प्रवेश गर्न पाउनेछ । त्यो पनि सिस्नेखोला र चन्द्रागिरीतर्फको मुखमा निर्माण हुने टोलगेटले सवारी साधनको तौल र उचाँई परीक्षण गरेर तोकिएको निश्चित तौल र उचाँईको आधारमा मात्रै प्रवेश गर्न पाउनेछन् ।

सोहि तौल र उचाइको आधारमा शुल्क निर्धारण गरिनेछ । यो सुरुङमार्गमा पेट्रोल डिजेल र ग्यास बोकेको ट्याँकर र बुलेट, दुई पाँग्रे सवारी साधनलाई भने प्रवेश गर्न नदिने गरि प्रवेश निषेधको व्यवस्था हुनेछ ।

‘मुख्य सुरुङमार्गबाट बस र सामान्य ट्रक गुडाउनका लागि निश्चित तोल र उचाइको मापदण्ड तोकिनेछ,’ घिमिरेले क्लिकमान्डुसँग भने, ‘त्यो मापदण्डभित्र पर्ने बस र ट्रक मात्रै सुरुङमार्गबाट ओहोर दोहोर गराउन पाइनेछ । हेभिवेट भएको ट्रकलाई पनि प्रवेश गर्न निषेध गरिनेछ ।’ यसबाहेक सुरक्षालाई ध्यानमा राख्दै यो सुरुङमार्गमा घुम्नका लागि पनि प्रतिबन्ध लगाइने तयारी छ ।

दुवैतर्फको टनेल अपरेशनल बिल्डिङ्ग नजिकै टोलगेट निर्माण हुनेछ । टोलगेटसँगै २४ सैं घन्टा सुरक्षाकर्मी, आपतकालीन समयको लागि प्राथमिक चिकित्सकको टोली, एम्बुलेन्स, टनेल प्रविधिसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

मुख्य सुरुङमार्ग भित्र भने ६० किलोमिटरको गतिमा मात्रै सबारी साधन गुडाउन पाइनेछ । यो सुरुङमार्ग पार गर्न ३ मिनेटको समय लाग्नेछ ।

दुई लेनको सुरुङमार्ग पनि वन वे हुनेछ । यसका साथै नागढुङ्गाबाट काठमाडौं आउने अहिलेको बाटो पनि वन वे हुनेछ । काठमाडौंबाट नागढुङ्गा जाने बाटो पनि वन वे बनाइने तयारी भएको छ ।

सरकारले आगामी वैशाख ३ गते नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने कार्यतालिका बनाएको छ।

यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ । यहि २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङमार्गको पूर्वनागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने कार्यतालिका तयार पारिएको छ ।

२ हजार ५ सय ५७ मिटर दूरी भएको आपतकालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत साउन २२ गते सम्पन्न भइसकेको छ । कुल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खनि सकिएको छ ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको यो आयोजना सम्झौता भएको मितिदेखि ४२ महिनामा (२०२३ अप्रिल २५) मा सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो । तर कोभिड र स्थानीय बासिन्दाको आन्दोलनका कारण यसको निर्माण समय थप भएर अहिले २०२४ अप्रिल २४ तोकिएको छ ।

सडक विभाग र कम्पनीबीच सन् २०१९ सेप्टेम्बर २३ मा ठेक्का सम्झौता भएको थियो । यो सुरुङमार्ग ३.५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ ।