कांग्रेस नेता पौडेलको निधन

April 12, 2024

गण्डकी, चैत ३०- नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । उहाँ त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो ।

कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आउनुभएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । उहाँका पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ । उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी हुनुभएको थियो । त्यस यता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बन्नुभएको थियो । 

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित हुनुभएको थियो । 

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।