टिकटकले प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ)

0
17

काठमाडौँ, कात्तिक ३०- टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गर्दै टिकटकले पत्र पठाएको हो ।

टिकटकले प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ) 3
टिकटकले प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ) 4

टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

पत्रमा टिकटकले बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ । साथै टिकप्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर परेको जनाएको छ । प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य बनाउन प्रतिबद्ध रहेको पनि प्रष्ट पारेको छ ।

पत्रमा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्न तयार रहेको भन्दै प्रतिबन्धलाई वाक स्वतन्त्रता हननको भएको समेत दाबी गरिएको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

दूरसंचार प्राधिकरणले नेपालमा टिकटक बन्द गरेको पत्रको जवाफमा टिकटकले नेपाल दूसंचार प्राधिकरणलाई नेपालमा टिकटक ब्लक गरेकोमा आश्चर्य ब्यक्त गर्दै बन्द गर्नुका कारण माग गर्दै पत्र लेखेको छ। कात्तिक २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक नेपालमा बन्द गर्ने निर्णयको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो। त्यसको जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ।

(यस्तो छ पत्र)

टिकटकले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं। यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन्। उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन्। नेपाल सरकारको टिकटक प्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रिएटरहरूलाई समेत असर पर्ने भएको छ। नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्‍यवसायमै समस्या आउने हुदा टिकटकले चिन्‍ता व्यक्त गर्दछ। प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता हो। टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको छ। विश्वव्यापी प्लेटफर्म भएकाले संसारभर हाम्रा हजारौं कर्मचारीहरू प्रयोगकर्ताका लागि सुरक्षित वातावरण तय गरिराख्नका लागि काम गरिरहेका छन्। हामी सामाजिक सदभावको मापदण्डभन्दा बाहिर पर्ने कन्टेन्ट र मानिसका व्यवहारहरू सम्बोधन गर्छौं। यसका लागि हामीले नीतिहरू र प्रविधिहरू व्यवस्था गरेका छौं। यिनले त्यस्ता मापदण्ड उल्लंघन गर्ने कन्टेन्ट र टिकटक खाता हटाउने काम पनि गर्छन्। हामीले नेपाल सरकारलाई गत जेठ २४ गते (जुन ७) मा नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच दिएका थियौं। त्यस्तै भदौ १२ गते डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौं। यस्तै सन् २०२२ अक्टोबरदेखि सन् २०२३ जुनसम्म मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएका थियौँ। यी सबै कुराहरूले हामी नेपाल सरकारसँग सहकार्य गर्न कति प्रतिबद्ध र प्रयासरत छौं भन्ने देखिन्छ। यसकारण टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँगको हाम्रो सहकार्य विपरीत छ। प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग काम गरिरहन प्रतिबद्ध छ। त्यसैले हामी टिकटक बन्द गर्नुपर्ने वास्तविक र विशिष्ट कारणहरू के हुन् भनेर हामीलाई प्रस्ट जानकारी दिन नेपाल सरकारसँग अनुरोध गर्छौं। हामी नेपालमा सुरक्षित तरिकाले टिकटक विस्तार गर्नका लागि नेपाल सरकारसँग सम्बन्ध कायम राखिरहन चाहन्छौं। हामीलाई यो मौका दिनुपर्छ भन्ने आशा पनि गर्छौं। मानिसहरूले आफ्ना अभिव्यक्तिहरू राख्न व्यापक रूपमा प्रयोग गरिरहेको प्लेटफर्म यसरी एकाएक बन्द गर्नु वाक स्वतन्त्रताविरूद्ध हो। हामी नेपाल सरकारले उठाएका कुनै पनि प्रश्न सम्बोधन गर्न र दुबै पक्षको हितमा हुने गरी काम गर्ने संकल्प गर्छौं।”