काठमाडौं,कात्तिक १८- भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।





भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको बताए ।



“गएराति गएको भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौँ,” गुरुङले भने, “दुःखको यस घडीमा हामी पीडित नागरिकसँगै छौँ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले यो सहयोग गरेका हौँ ।” घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ ।

साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।
प्रकाशित मिति: