काठमाडौं, असोज २७ – प्रहरी महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता हुनुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर आज (शनिबार) स्वदेश फिर्ता हुनुभएको हो ।




प्रहरी महानिरीक्षक कुँवरसहितको चार सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।
कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरुले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, एफसिडिओ कार्यालयका स्टफेन ओटर, यूएनओपिएस कन्सल्टेन्ट सिसीलिया डन्सटर, नेशनल क्राइम एजेन्सी (एनसिए) का विल विल्सन, कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख डोमिनिट फिनिगनलगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो ।

भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो । साथै ग्रीनबीच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गर्नुभएको थियो ।
बेलायत भ्रमणको क्रममा नेपाली राजदुताबास लण्डनका राजदुत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको टोलीबीच नेपाली राजदुतावास लण्डनमा भेटवार्ता भएको थियो । भेटघाटका क्रममा नेपाली राजदुतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।
यूएनओपिएससँग सुरूवात गरिएको योजनाअन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतिहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिकाविरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।
बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
प्रकाशित मिति: