समयमै कर बुझाउने करदातालाई “असल करदाता” स्टिकर वितरण गर्दै भरतपुर महानगर

0
25

भरतपुर , असोज १४ – भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई तीन वटा रङ भएका स्टिकर वितरण गरेको हो ।

समयमै कर बुझाउने करदातालाई "असल करदाता" स्टिकर वितरण गर्दै भरतपुर महानगर 1व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घरजग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरिएको हो । महानगरपालिकाले कानुनी दायित्वको पालना नगरी व्यवसाय सञ्चालन नगर्न, नवीकरण गर्न, घरबहाल कर दाखिला गर्न र सम्पत्ति कर बुझाउन सार्वजनिक आह्वान गरेको छ ।

समयमै कर बुझाउने करदातालाई "असल करदाता" स्टिकर वितरण गर्दै भरतपुर महानगर 2

असोज २३ गतेसम्म कर बुझाउने करदातालाई विषेश छूट सुविधा उपलब्ध गराइने महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए । कर दाखिला नगर्ने व्यक्ति वा संस्थालाई महानगरपालिकाबाट उपलब्ध सेवा–सुविधा कटौती गर्ने महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई सशक्तरूपमा अघि बढाएको छ । महानगरपालिकाले कर संकलनका लागि टास्कफोर्स बनाएर सोही समितिमार्फत अनुगमन गरिने महानगर प्रमुख रेनु दाहालले बताइन् । उनले चालू आर्थिक वर्षमा राजस्व संकलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिइन् ।

समयमै कर बुझाउने करदातालाई "असल करदाता" स्टिकर वितरण गर्दै भरतपुर महानगर 3विगतका वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उनले चालू आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व उठाउने दाबी गरिन् । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।

समयमै कर बुझाउने करदातालाई "असल करदाता" स्टिकर वितरण गर्दै भरतपुर महानगर 4महानगरमा संकलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिनेगरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानका रूपमा अघि बढाएको उनले बताइन् ।