काठमाडौँ, असोज १४- सरकारलाई खाना पकाउने ग्यासलगायत इन्धनको मूल्यवृद्धि फिर्ता गर्न चौतर्फी दबाब बढेको छ । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेपछि सरकारलाई मूल्यवृद्धि फिर्ता गर्न चौतर्फी दबाब बढेको हो ।
नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी र सत्तारुढ दलकै नेताहरुले पनि महँगी नियन्त्रण हुन नसकेको भन्दै टिप्पणी गरेका छन् ।
हाल ग्यास प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।