नेताहरुले मुसहर समुदायलाई गरिबीको दलदलमा फसाए- मुसहर महिला सशक्तीकरण मञ्च

0
33

काठमाडौँ, असोज ११- सर्लाही जिल्लामा बसोवास गर्ने सीमान्तकृत मुसहर समुदायको अवस्था अझै पनि दयनीय छ । देशको व्यवस्था फेरियो तर मुसहर समुदायको अवस्था फेरिन सकेको छैन । राज्यको ध्यान मुसहर समुदायमा अझै जान सकेको छैन । व्यवस्था फेरिएर घर–घरमा सिंहदरबार भनेर स्थानीय सरकारलाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । तर, स्थानीय सरकारले समेत उनीहरुको हितमा काम गरेका छैनन् । मुसहर बस्तीमा अझै पनि बालविवाह, बहुविवाह गर्ने प्रचलन कायमै छ ।

ज्याला मजदुरी गरेर जीवननिर्वाह गर्दै आएका यहाँका मुसहर समुदायमा महाजनबाट ऋण लिने, उसैको घरमा कमारो बस्ने चलनको समेत अन्त्य भएको छैन । उनीहरुको आर्थिक अवस्था अझै कमजोर छ । झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यकारी अवस्था रहेको छ ।

गाउँमा पिल्सिएर बसेका महिलाहरु राज्यलाई आफ्ना समस्या सुनाउन बुधबार राजधानी आएका छन् । साप नेपालले सञ्चालन गरेको नेपालमा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धन नामक परियोजनाले गरेको कामले आफ्ना अधिकारबारे सचेत बनेका महिलाहरु सरकारका प्रतिनिधिलाई समस्या सुनाउन राजधानी काठमाडौँ आएका हुन् । यस्तो अवसर साप नेपालले मिलाइदिएको हो । राष्ट्रियस्तरको सिकाइ आदानप्रदान कार्यक्रममा महिलाले आफ्ना समस्या राख्ने र राज्यका जिम्मेवार प्रतिनिधिले त्यसको जवाफ दिने गरी व्यवस्था गरिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए ।

मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध महिलाहरुले चुनावका बेला भोट बैंकको रुपमा प्रयोग गर्ने नेताहरुले मुसहर समुदायलाई गरिबीको दलदलमा फसाएको आरोप लगाएका छन् । हरिपुरको मुसहर महिला सशक्तीकरण मञ्चकी अध्यक्ष पल्टनिया माझीले स्थानीयस्तरका नेताहरु चुनावका बेला आश्वासन देखाउने र पदमा पुगेपछि फर्केर नहेर्ने गरेको बताइन् ।

‘हामीलाई गरिबीको दलदलमा फसाइयो’, उनले भनिन्, ‘अहिलेसम्म हामीलाई कसैले केही गरेनन् ।’ उनले भारतीय नागरिकले सजिलै नागरिकता पाउँदा वर्षाैंदेखि यहाँ बस्दै आएका मुसहरलाई सरकारले नागरिकताबाट वञ्चित गरेको बताइन् ।

मञ्चमा आबद्ध उर्मिलादेवी माझी, सम्झावती माझी, रिता माझी, आशा माझीले मञ्चमा माइकको अगाडि निर्धक्क भएर आफ्ना समस्या पोखेको कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतोले तराईका मुसहर समुदायको अवस्था दयनीय रहेको भन्दै उनीहरुलाई गरिबीको अँध्यारोबाट मुक्त गर्ने जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुखअतिथि महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले मुसहर समुदाय श्रमशोषणको चपेटामा परेको बताए । गाउँका धनी भनिनेहरुले श्रमशोषण गर्ने गरेका कारण मुसहर समुदायको जीवनस्तर उकासिन नसकेको उनको भनाइ छ ।

साप नेपालका कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले राज्यबाट वञ्चितीकरणमा परेका मुसहर महिलाहरुको जीवनस्तर उकास्न परियोजना सुरू गरिएको बताए ।

साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले महाजनबाट व्याजदरमा ऋण लिने चलन अन्त्य गर्न महाजनमुक्त सहकारी संस्था स्थापना गरिएको जानकारी दिए । उनले मुसहर समुदायका ४०० बढी बालबालिकाको जन्मदर्ता गरी विद्यालय भर्ना गरिएको, बाल तथा बहुविवाह गर्ने चलनको अन्त्य गरिएको बताए । उनले मुसहर बस्तीमा रहेका अनेकौँ समस्याको हल गर्दै महाजनकहाँ कमारो बस्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न आयआर्जनको कामको सुरूवात गरिएको बताए ।

साप नेपालकी अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खालिद सिद्दकी, कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चण्डेश्वर सदा, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीलगायतले मन्तव्य राखेका थिए ।

साप नेपालले हरिपुर नगरपालिका, बरहथवा नगरपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकाका मुसहर महिलाको जीवनस्तर उकास्न परियोजना सञ्चालन गरेको हो । चार पालिकाको ३२ वटा सशक्तीकरण मञ्चमा एक हजार ५०० महिलालाई आबद्ध गरी सशक्तीकरण र आयआर्जनका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।