भरतपुर महानगरद्वारा खाद्यान्न पसलमा दशैँ लक्षित अनुगमन शुरु

0
38

भरतपुर, असोज ११- भरतपुर महानगरपालिकाले चाडपर्वलक्षित अनुगमन थालेको छ । नियमितरुपमा बजार अनुगमन गर्दै आएको महानगरले बुधबारदेखि खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । भरतपुर–२ का वडा अध्यक्ष मनोज रानाभाट नेतृत्वको अनुगमन टोलीले भरतपुर–३, ४ र ७ का विभिन्न पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भरतपुर–७ स्थित सिक्स टेन मार्टमा बियर, चियापत्तीलगायत केही म्याद गुज्रिएको खाद्यान्न फेला परेको रानाभाटले बताए । अनुगमन गरिएका पसलहरुमा समग्रमा सन्तोषजनक अवस्था पाइएको छ । भरतपुर–३ को आलु मन्डीका पसलमा बिक्रीका लागि राखिएका आलु तथा प्याजको बोराको तौल गरिएको थियो ।

केही पसलमा व्यापारीले भनेको भन्दा ३०० ग्रामसम्म कम प्याज भेटिएको थियो । ग्राहकलाई तोकिएको भन्दा कम तौलको प्याज बिक्री नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ भने अधिकांश पसलहरुले महानगरमा दर्ता नवीकरण नगरेको पाइएको छ ।