भरतपुर,असोज २- १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको भदौ ३१ गतेको इजलासले आरोपित तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–६ बस्ने राकेश भन्ने कृष्ण मगरलाई १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
कैदसँगै ६ लाख जरिवाना र ५० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसलासमेत भएको अदालतले जनाएको छ ।
०७७ चैत २४ गते इच्छाकामना गाउँपालिका–५, मुग्लिनस्थित होटलमा जन्मदिन मनाउने भनी राखी बलात्कार गरेको आरोपमा पीडित परिवारले ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी दिएका थिए । बालिकाको चैत २९ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।
२२औँ पेशीमा २ वर्षपछि यो मुद्दा फैसला भएको हो । ०७८ साउन २८ गते तत्कालीन जिल्ला न्यायाधीश हेमन्त रावलको इजलास आदेशले आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।