चितवनका आरके शर्मा एनआरएनए अध्यक्षका प्रत्यासी, श्रमिकका एजेण्डा पहिलो प्राथमिकता

0
26

चितवन, असाेज १– चितवनका राजेन्द्रकुमार (आरके) शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षको पदमा उम्मेदवारी दिने भएका छन् । दोहामा आयोजित ५७ वटा संघसंस्थालाई साक्षी राखेर उनले अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । केही दिनभित्र शर्माले काठमाडौंमा औपचारिक कार्यक्रम गरेर उम्मेदवारी दिने तयारी गरेका छन् ।

गैरआवासीय नेपाली संघ स्थापना भएको दुई दशक पूरा भएपनि अहिलेसम्म मध्यपूर्व क्षेत्रले नेतृत्व पाउन सकेको छैन । शर्माले आफ्नो कार्यक्रममा श्रमिकका मुद्दालाई प्राथमिकता दिएका छन् । उम्मेदवारी घोषणा कार्यक्रम गर्नु अगाडि शर्माले अहिले विश्वभरका नेपालीहरुसँग भेट गरेर सल्लाह र सुझाव लिइरहेका छन् ।

“दुई वर्षको कार्यकालमा के काम गर्ने प्रष्ट योजना सहित उम्मेदवारी घोषणा गर्ने छु,” शर्माले भने, “अहिले गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउने योजना तथा २ वर्षभित्र गर्न सकिने कामको बारेमा अग्रज अभियन्तासँग सल्लाह र सुझाव लिएको छु।” शर्माले गैरआवासीय नेपाली अभियानको अध्यक्षमा समर्थन जुटाउनको लागि करिब सबै क्षेत्रको भ्रमण गरिसकेका छन् । एशिया, ओसियाना, युरोप भ्रमण गरिसकेका शर्मा अहिले अमेरिका क्षेत्रको भ्रमणमा छन् ।

कतारमा श्रमिक हुँदै व्यवसायी रुपमा सफलता हासिल गरेका शर्मा चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिका प्रमुख सल्लाहकार पनि हुन् । शर्माले रेमिट्यान्स रकमलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्राधिकरण बनाउने र विदेशमा सानो रकम कमाइ गर्ने नेपालीको पैसा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजना बनाएका छन् ।

“गैरआवासीय नेपाली संघले अहिलेसम्म सामाजिक काममा मात्र केन्द्रीत छ,” शर्माले भने, “संस्थागत रुपमा अब हाम्रो कामको प्राथमिकता सामाजिक सेवासँगै देशलाई सम्बृद्ध बनाउनेमा हुने छ।”

चितवनका आरके शर्मा एनआरएनए अध्यक्षका प्रत्यासी, श्रमिकका एजेण्डा पहिलो प्राथमिकता 1