भरतपुर , असोज १– भरतपुरमा २० क्विन्टल अवैध माछा नष्ट गरिएको छ । भेटेरिनरी रिपोर्टमा उल्लेख भएभन्दा फरक प्रजातिको माछा बोकेका लु ३ च १७९४ नम्बरको बोलेरोलाई रामनगरमा नियन्त्रणमा लिएर अवैध माछा नष्ट गरिएको हो ।
पशु क्वारेन्टाइन चेक पोस्ट रामनगरका प्रमुख शिरीष गौतमका अनुसार भेटेरिनरी प्रमाणपत्रमा वैकी र रौ जातिका माछा ढुवानी गरिएको उल्लेख छ । गाडीमा भने रुपचन्द्र र विगेट जातिका माछा भेटिएको उनले बताए ।
रामनगरको सामुदायिक वनमा खाल्डो खनेर माछा नष्ट गरिएको हो । मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले भारतीय माछालाई नेपाली उत्पादन भनेर अवैधरुपमा काठमाडौँ लैजाने क्रममा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको बताए । माछामा सात घन्टासम्म पनि झिँगा नलागेको भन्दै उनले नाइट्रेट र फर्मालिन प्रयोग गरिएको हुन सक्ने बताए ।
नाइट्रेट र फर्मालिन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने उनी बताउँछन् । गाडी चालक तेजनारायण चौधरीले नवलपरासीको सिमहीबाट बक्समा प्याकिङ गरेर राखिएको माछा गाडीमा लोड गरेर ल्याएको बताए ।