कुखुराको खोरमा बस्न बाध्य नेपालीको परिवारलाई नयाँ घर

0
39

रत्ननगर, असोज १– राप्ती नगरपालिका वडा नं–२, पन्तडाँडामा विपन्न परिवारका लागि निर्माण गरिएको घर आइतबार हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिका र सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्टको संयुक्त लगानीमा दीपक नेपालीको परिवारका लागि निर्माण गरिएको तीनकोठे घर परिवारलाई हस्तान्तरण गरिएको हो ।

राप्ती नगरपालिकाले प्रदान गरेको एक लाख रूपैयाँमा निर्माण सम्पन्न हुन नसकेपछि सपना भिलेजले थप लगानी गरी घर निर्माण गरेको थियो । कुखुराको खोरमा बस्न बाध्य भएका नेपालीको ६ जनाको परिवारको कारूणिक अवस्था देखेपछि निवर्तमान वडा सदस्य तिलकबहादुर कार्कीको पहलमा नेपालीको परिवारका लागि घर निर्माण गरिएको हो । नगरपालिकाले प्रदान गरेको एक लाखले निर्माण सम्पन्न हुन नसकेपछि विगत ८ महिनादेखि सो घर अलपत्र अवस्थामा रहेको थियो ।

सपना भिलेजले दिएको एक लाख ७३ रूपैयाँले घर निर्माण गर्न सम्भव भएको कार्कीले बताए । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका नेपालीको परिवार घर नहुँदा गाउँकै कुखुराको खोरमा बस्दै आएका थिए । राप्ती नगरपालिकाका मेयर शमशेर लामा र सपना भिजेल सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले संयुक्तरुपमा नेपालीको परिवारलाई चाबी हस्तान्तरण गरी नयाँ घर दिएका हुन् ।

सो अवसरमा मेयर लामाले चालू आर्थिक वर्षमा नेपालीजस्तै आर्थिक अवस्था कमजोर भएका परिवारका लागि १०० घर निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको बताए । गत आर्थिक वर्षमा प्रदेश र स्थानीय सरकारको लगानीमा २३२ वटा घर निर्माण गरिएको भन्दै उनले चालू आर्थिक वर्षमा पनि आकासमुनि बास बस्नुपर्ने बाध्यकारी अवस्थामा रहेका परिवारको पहिचान गरी घर निर्माण गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका इम्प्याक्टका अध्यक्ष गिरीले कुखुराको खोरमा जीवन बिताएका परिवारको घर आर्थिक अभावका कारण अलपत्र परेको थाहा पाएपछि निर्माण सम्पन्न गरेर परिवारलाई हस्तान्तरण गरिएको बताए । ‘आर्थिक अभावका कारण कसैको पनि आकासमुनिको बास हुनुहुँदैन’, उनले भने, ‘त्यस्ता परिवारको पहिचान गरी स्थानीय सरकारसँग सहकार्य गरी घर निर्माण गर्दै आएको उनको भनाइ छ । ‘समस्यामा परेकालाई हामी सहयोग गर्छौं’, उनले भने, ‘तर त्यसमा स्थानीय सरकारको पनि निश्चित प्रतिशत लगानी हुनुपर्छ ।’

घर हस्तान्तरण कार्यक्रममा दीपक नेपालीले विगत दुई वर्षदेखि कुखुराको खोरमा जीवन बिताइरहेको बताए । ‘अब छोरीहरु ठूला–ठूला भइसके’, उनले भने, ‘त्यहाँ बस्न मुस्किल थियो, घर बनाइदिनुभयो, अब कमाएर परिवार पाल्छु ।’