भरतपुर, असोज १– चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा चाडपर्व लक्षित ‘पर्व विशेष मेला २०८०’ आयोजना गर्ने भएको छ । स्वदेशी उद्योग र उत्पादनलाई प्रबद्र्धन गर्ने उद्धेश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजकले आज (आइतवार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चितवन प्रदर्शनी केन्द्रमा हुने मेलामा जुत्ताचप्पल, खाद्यान्न, लत्ताकपडा, खसीबोका लगायतका सामाग्री प्रदर्शन गरिने बताइएको छ ।
यसअघि भएको जुत्ताचप्पल प्रदर्शनीले उपभोक्तालाई उत्साहित बनाएकाले पर्व विशेष मेला आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । ‘रोजगारी सिर्जना, राजस्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केहि गर्छु भन्दै स्वदेशमै गरीखान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहन गर्न मेला सहयोगी हुने विश्वास लिएका छौँ’, उनले भने ।
मेलामा १३ वटा उद्योगको स्टल रहने उनले जानकारी दिए । दशैँ अगाडि मेलाको अन्तिम हप्ता खसीबोका लगायत खाद्यान्न प्रदर्शन हुने उनले बताए । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जिल्ला भित्र र बाहिरका हजारौँ अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने भएकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग हुने उनी बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका अध्यक्ष नानीराज घिमिरेले नेपालमा फुटवेयरको प्रचुर सम्भावना रहेको बताए । वार्षिक १६ करोड रुपैयाँको जुत्ताचप्पल उत्पादन गर्ने क्षमता भएका नेपाली उद्योगले १० करोड रुपैयाँको मात्रै उत्पादन गर्नुपरेको उनले बताए । पर्व विशेष मेलाबाट आर्थिक गतिविधि थप चलायमान हुन गई पलायन हुन लागेका उद्योगी व्यवसायीलाई उद्यमशीलतालाई निरन्तरता दिन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: