काठमाडौँमा एकै ठाउँमा चारको हत्या, एसएसपीको नेतृत्वमा छानविन समिति

0
16
चार जनाको हत्या भएको स्थान दिव्य सःमिल

काठमाडौँ, भदौ ३१- काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए ।

तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरूष र दुई महिलाको शव फेला परेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

तीन जना एकै परिवारका

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ । उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान गरिरहेको र सबै नाकामा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।

एसएसपीको नेतृत्वमा छानविन समिति

हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

टोलीलाई विविध विधि र प्रविधिको अधिकतम प्रयोग गरी घटनाको सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।
चारै जनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।