इच्छाकामना महोत्सव सुरु : आर्थिक गतिविधि चलायमान हुने आयोजकको विश्वास

0
14

चितवन, भदौ २७- चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा दोस्रो इच्छाकामना महोत्सव–२०८० बुधबार (आज)बाट सुरु भएको छ। आर्थिक क्रियाकलापलाई चलायमान बनाउन आयोजना गरिएको महोत्सवको वागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले बाजागाजासहित उद्घाटन गरेका हुन् । महोत्सवका संयोजक इच्छाकामना–४ का वडाध्यक्ष अध्यक्ष रुद्रप्रसाद उप्रेतीले दिएको जानकारी अनुसार शिथिल बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि महोत्सव आयोजना गरिएको हो।

आगामी असोज ७ गतेसम्म १२ दिनसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनलाई टेवा पुर्‍याउने विश्वास गरिएको छ। आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २०० वटा स्टल राखिएको छ। तीमध्ये स्थननीय उत्पादनका १५ वटा स्टल राख्न निःशुल्क व्यवस्था मिलाइएको इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक कल्याण गुभाजुले जानकारी दिए ।

एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ। इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी, लामो झरनालगायतका गन्तव्य अवालेकन गर्न सकिने आयोजकले जनाएको छ। इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव भएको हो।