नेपालगञ्ज, भदौ २७- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपीभी लगाउन आजदेखि सुरु गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई खोप कार्ड प्रदान गरेर खोप कार्यक्रमको सुरुवात गरेका हुन्। सो खोप यही भदौ ३० गतेसम्म लगाइने छ । पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार दुई सय १५ किशोरीलाई लगाइने खोप भेरी अस्पतालमा दुई हजार चार सय ३० भाइल खोप आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिए ।
नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा सो खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने परिवार कल्याण महाशाखाले जनाएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ ।