रत्ननगर, भदौ २५- रत्ननगर नगरपालिका वडा नम्बर १५ स्थित हाम्रो नमुना आमा समूह द्वारा आयोजित मौलिक तीज गीत प्रतियोगितामा अन्नपुर्ण टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको छ। समसामयिक विषय वस्तु समेटेर अन्नपुर्ण टोल विकास संस्थाले तयार गरेको गीतमा आकर्षक प्रस्तुतीकरण समेत रहेको थियो । यहि गीतमा नृत्य गर्ने सिमा सापकोटाले उत्कृष्ठ नृत्यको पुरस्कार पाएकी छिन्। रत्ननगर नगरपालिका १५ नम्बर वडाकार्यलयको सहयोगमा आयोजित प्रतियोगितामा दिग्दर्शन टोल दोश्रो, हाम्रो नमुना आमा समूह र रामजानकी टोल तेश्रो त्यस्तै दिपज्योती टोलले सान्त्वना पुरस्कार हात पारेका छन्। श्री गणेश टोल विकास संस्थाले उत्कृष्ठ भेषभुषाको पुरस्कार प्राप्त गरेको छ। कार्यक्रमका विजेताहरुलाई नगद तथा प्रमाण पत्र साथै मायाको चिनो समेत प्रदान गरिएको थियो।
मौलिक तीज गीतलाई जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष आशिक तामाङ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले यस्ता खालको संस्कृति जगेर्ना हुने कार्य अन्य टोलहरुले पनि आयोजना गर्नुपर्ने बताउनु भएको छ। उँहाले थप्नुभयो “संस्कृति जगेर्ना हुने कार्यक्रममा वडा कार्यालय सधै साथमा रहने छ, यसका लागी वडा कार्यालयले सधै सहयोगी भूमिका खेल्नेछ” कार्यक्रममा वडा नम्बर १५ का सचिव सुर्य ढुंगाना, वडा सदस्य इन प्रसाद पन्त लगायतले बोल्नुभएको थियो भने संस्थाको उपाध्यक्ष कमला सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो।
प्रतियोगितामा रामु आचार्य, टिकाराम शर्मा लामिछाने र शुशिला सारु मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रमेश नेपाल र केशव भट्टले आकर्षक प्रस्तुतिमा संचालन गरेको कार्यक्रम हाम्रो नमुना आमा समूहको अध्यक्ष कोपिला लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रकाशित मिति: