सरकारमा सहभागि समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

0
15

विराटनगर, भदौ २५- सरकारमा सहभागि रहेको समाजवादी मोर्चालाई ब्यानरमा कोशी प्रदेश लेख्न सकस भएको छ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न नसकेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय सन्देश सभा’ मात्र लेखिएको थियो ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले सुदूरपश्चिमबाहेक पाँचवटा प्रदेशमा सभा आयोजना गर्दा प्रदेशको नाम लेखेको थियो । तर कोशीमा पुग्दा प्रदेशको नाम लेख्न नसकेको हो ।
अरु प्रदेशसभाले अघिल्लो कार्यकालमा नै नामकरण टुंग्याएपनि तत्कालिन प्रदेश १ को प्रदेशसभाले भने दोस्रो चुनावपछि १७ फागुन २०७९ मा मात्र कोशी नाम राखेको थियो ।

प्रदेशसभाले नामकरणको निर्णय गर्दा अहिले समाजवादी मोर्चामा रहेकामध्ये जसपा र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए । नेकपा माओवादी केन्द्रले कोशी नामको पक्षमा मत दियो, तर पहिचान पक्षधरहरुले आन्दोलन चर्काएपछि पार्टीको बैठकबाटै नामकरणमा मतदान गर्नु गलत भएको निर्णय गरेको थियो ।
मोर्चामा आवद्ध दलका नेताहरुका अनुसार छलफल गरेरै ब्यानरमा प्रदेशसभाको नाम नराखिएको हो । मोर्चाका एक नेता पहिचान पक्षधरलाई नचिढ्याउन र मोर्चामै आवद्ध दलहरुबीच पनि एकरुपता ल्याउन ब्यानरमा नाम नराखिएको बताउँछन् ।

विराटनगरमा सभा व्यवस्थापनको विषयमा समाजवादी मोर्चामा आवद्ध दलहरुको बैठक गत बिहीबार, शुक्रबार र शनिबार बसेको थियो । सभामा प्रदेशको नाम नराख्ने निर्णय भने शनिबारको बैठकले गरेको नेताहरुले बताएका छन् ।

समाजवादी मोर्चामा रहेका दलहरु अहिले कोशी नामको विपक्षमा रहेको र पुरानै नाम राख्दा पनि विवाद हुन सक्ने देखेर नाम नै नराखिएको एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले बताए । माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेती सभा राजनीतिक भएकाले नाम उल्लेख नगरिएको बताउँछन् । जसपाका अध्यक्ष दीपक याख्याले प्रदेशको नाममा विवाद रहेकाले नाम नराख्ने सहमति भएको बताए । सभामा मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रदेशको नामकरण सम्वादबाट टुंग्याउनुपर्ने बताए ।