कालिकाले नयाँ तथा पुराना घरको अभिलेखीकरण गर्ने

0
105

कालिका, भदौ ९- कालिका नगरपालिकामा मोटामोटी कतिघर धुरी छन् ? कुन घर कस्ता छन ? नगरक्षेत्रका कति घरहरु मापदण्ड अनुसार बनेका छन ? यि सबैको तथ्याङ्क नगरपालिकासँग छैन । नगरपालिका गठन भएपछि सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिता २०७२ लागुभयो ।

कालिका नगरपालिकाले यसलाई कठाईका साथ कार्यान्वयन गर्न सकेन । नक्सापास बिना अझैपनि घर बन्ने क्रम जारी छ । यसैलाई मध्येनजर गर्दै नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरहरुको अभिलेखीकरणलाई व्यविस्थतगर्ने तयारी थालेको छ । कार्यपालिकाको बैठकले अर्को सातादेखि नयाँ तथा पुराना घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय भवन संहिता २०७२ लागुहुनुपूर्व र संहित २०७२ लागु भए पश्चात बनेका सबै घरहरुको अभिलेखीकरण गर्ने निर्णय भएको हो ।

नगरपालिका गठन हुनुभन्दा अघि र गठन भएपछि स्वीकृत लिई वा नलिई बनेका घरहरुको अभिलेख राख्ने नगरपालिकाको योजना छ । घर अभिलेखीकरणका लागि नगरपालिकाले भवनहरुको अभिलेख तथा घर नक्सा व्यवस्था सम्बन्धी निर्देशिका समेत तयार पारेको छ । नगरभित्र बनेका पुराना तथा नयाँ घर दुवै अभिलेखीकरणगर्ने गरि निर्देशिका तयार पारिएको हो । नक्सा पास भएका र नक्सापास विना बनेका घरहरुपनि अभिलेखीकरण गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।

मापदण्ड अनुसार बनेका घरहरुलाई निश्चित शूल्क लिएर अभिलेख भएको प्रमाणपत्र दिनेछ । त्यसका लागि घरधनीले सधियार सहित पाँचजना स्थायी बसोबास गरेका व्यक्तिहरुको नागरिकता सहित साक्षी राखेर घरलाई अभिलेखीकरण गरिनेछ । बाटो र कुलोमा परेको घर बाहेक सबै खालका घरलाई अभिलेखीकरण गर्ने गरी निर्णय भएको छ । विवादित जग्गामा बनेको घरलाई भने अभिलेखीकरण गरिने छैन् ।

‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबैको घर अभिलेखीकरण यो वर्ष हुन्छ’ नगर प्रमुख रेग्मीले भने ‘जहाँ जस्तो अवस्थामा छ त्यस्तै खालले अभिलेख राखिनेछ’ । यो पटक सबैलाई मापदण्डमा ल्याउने प्रयास भइरहेको छ । नगरक्षेत्रभित्रका धेरै घर अभिलेखीकरणहुन छुटेकाले अन्तिम पटकका लागि अभिलेखीकरण गर्न लागिएको नगर प्रमुख विनोद रेग्मीको भनाई छ । घर अभिलेखीकरण गर्न नमान्नेहरुलाई राज्यले दिने सेवा सुविधावाट बञ्चित गर्न सक्ने अधिकार छ ।

तर अवसर नै नदिई बञ्चित गर्न नहुने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताए । घर अभिलेखीकरणका लागि यो अन्तिम पटक अवसर आएको छ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो यो अवसरको सदुपयोग नगरबासीले गर्नुपर्छ । नगर प्रमुख रेग्मीको अध्यक्षतामा बसेको बैठकमा भवन तथा वस्ती विकाश तथा स्थानीय भू–उपयोग शाख प्रमुख इन्जिनियर किशोर खतिवडाले घर अभिलेखीकरण सम्बन्धी निर्देशीका बारे प्रकाश पारेका थिए । बैठकमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।