पार्टी रुपान्तरणको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

0
65

काठमाडौँ, भदौ ९- नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ क्षेत्र नं ३ को क्षेत्रीय भेलामा उनले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिए ।

“अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, रक्षामन्त्रीसमेत रहेका खड्काले भने, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” उनले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको तथा नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे ।

उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राखे ।