अब देशभरका २६ अस्पतालमा पाइने छैन स्वास्थ्य बीमा

0
86

काठमाडौं,भदौ ८- स्वास्थ्य बीमामार्फत सेवा प्रदान गरिरहेका देशभरका २६ वटा अस्पताललाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले विभिन्न अस्पताल तथा निजी मेडिकल कलेजसमेतलाई सूचीबाट हटाउने निर्णय गरेको हो । जसमा भरतपुरस्थित सीएमसीसमेत परेकाे हाे ।

सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय भएकाे बोर्डले जनाएको छ ।

बोर्डले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी), बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, झापास्थित लाइफ लाइन अस्पताल र मेची नेत्रालय, विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, वीरगञ्जस्थित नेशनल मेडिकल कलेज, बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल तथा भैरहवास्थित नेपाल आँखा प्रतिष्ठानलाई पनि सेवा सूचीबाट हटाएको छ ।

यसैगरी दाङकाे राप्ती आँखा अस्पताल, बाँकेकाे‍ नेपालगञ्ज मेडिकल कलेज र फत्तेवाल आँखा अस्पताल, सिरहाकाे फूलकुमारी मेमोरियल हस्पिटल र सगरमाथा चौधरी आँखा अस्पताल तथा कैलालीकाे लाल रत्न अस्पतालमा पनि अब स्वास्थ्य बीमाअन्तर्गतको सेवा मिल्ने छैन।

बोर्डको तथ्यांकअनुसार स्वास्थ्य बीमाका लागि मुलुकभर ४ सय ६४ वटा स्वास्थ्य संस्था सूचीकृत छन्, जसमध्ये ५२ निजी स्वास्थ्य संस्था छन् । बीमा कार्यक्रममा उनीहरुको योगदान ३० प्रतिशत हाराहारी छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सरकारकाे सोही नीतिअनुसार निजी अस्पताल तथा मेडिकल कलेजबाट स्वास्थ्य बीमा सेवा हटाउँदै गइएको बोर्ड निर्देशक दामोदर बसौलाले बताए । ‘अब निजी तथा मेडिकल कलेजसँगको सम्झौता अवधि सकिएसँगै बीमा सूचीबाट हटाउँदै लगिनेछ,’ उनले भने ।