गुण्डागर्दी शैलीमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गर्नु अत्यन्त निन्दनीय : पत्रकार महासंघ

0
51

चितवन, भदौ ५ – नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र बागमती प्रदेश समितिले चितवनका दुई सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी पत्रकारलाई धाकधम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । हिजो (सोमबार) चितवन पोष्ट दैनिक र नारायणी अनलाइनको कार्यालयमा अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टिमले पत्रकारमाथि धाकधम्की दिएका थिए ।

उनीहरुले चितवन पोष्टका गोविन्द अर्याल र नारायणी अनलाईनका राजु चौधरीमाथि धाकधम्की दिनुका साथै दुव्र्यवहार गरेका थिए । उक्त घटनापछि अक्सफोर्ड कलेजको चौतर्फी आलोचना भएको छ । पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी गुण्डागर्दी शैलीमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारलाई दुव्र्यवहार गर्दै धम्क्याउनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुनविपरीतको काम भएको बताए ।

‘महासंघ स्वतन्त्र पत्रकारितामाथिको यो ज्यादतीमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । त्यसैगरी पत्रकार महासंघ बागमती प्रदेशका कृष्ण सारु मगरले पनि मंगलबार नै विज्ञप्ति जारी गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । पत्रकारको सुरक्षामा विशेष ध्यान दिन पनि स्थानीय प्रशासन समक्ष पत्रकार महासंघ बागमतीले आग्रह गरेको छ ।

गुण्डागर्दी शैलीमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गर्नु अत्यन्त निन्दनीय : पत्रकार महासंघ 1
गुण्डागर्दी शैलीमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गर्नु अत्यन्त निन्दनीय : पत्रकार महासंघ 2

Share