कालिकामा ५५ सय पशुलाई लम्पी स्किन विरुद्धको भ्याक्सिन

0
56

कालिका, भदौ ३- कालिका नगरपालिका क्षेत्रभित्रका ५ हजार ४५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइएकाे छ ।

साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा किसानहरुको गोठगोठमा प्राविधि सहितको टोलीलाई भ्याक्सिन लगाउन पठाएको हो ।

नगरपालिका अन्तगर्त पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार कालिकाको वडा नं. १ देखि ७ नम्बर वडाका किसानले पालेको गाई, भैसीलाई भ्याक्सिन लगाउने काम सकिएको छ । वडा नं. ८, ९, १० र ११ वडामा अहिले भ्याक्सिन लगाउने काम जारी छ । नगरपालिकाले लम्पी स्किन विरुद्धको भ्याक्सिनसँगै आवश्कता अनुसार जुकाको औषधि समेत नि:शूल्क दिइरहेको छ ।

भ्याक्सिनका कारण कुनै साईड इफेक्ट कतै देखिएको छैन । सुरुमा किसानहरु भ्याक्सिन लगाउन आनाकानी गरेका थिए । दुग्ध घट्ने डर किसानहरुमा थियो पशु शाखा प्रमुख पौडेलले भने – ‘अहिले किसानहरुले बुझे, हाम्रो गोठमा भएका गाईभैसीलाई पनि लगाईदिनुस भन्न थालेका छन् ।’
प्राविधिक टोलीले गोठमा देखिने फोहोर लगायत गाईभैसीलाई दिने दानापानीको विषयमा पनि सम्झाउँदै हिडेका छन् ।

प्राविधिक टोलीसँगै जनप्रतिनिधिहरु पनि किसानको गोठगोठ पुगिरहेका छन् । वडा नं. ८ मा अब ३ वटा टोलमा भ्याक्सिन लगाउन बाँकी छ । यो वडामा साउन २७ गतेदेखि अभियान सुरु भएको थियो । १७ वटा टोल मध्ये ३ वटा मात्रै बाँकी रहेको वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले जानकारी दिए । वडा नं. ८ मा मात्रै अहिले सम्म ६७५ वटा गाईभैसीमा भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किनको संक्रमणका कारण यो वडामा केही गाईहरु मरेको भएपनि अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको वडा अध्यक्ष मगरको दावी छ । नगरपालिकाको यो अभियानलाई स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाले साथ दिइरहेको छ । वडा नं. ८ देखि माथिल्ला वडाहरुमा उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले प्राविधिक टोलीहरुलाई सहयोग गरिरहेको छ ।

कुनैपनि गाईभैसी भ्याक्सिन लगाउनबाट छुट्नुहुँदैन भनेर सहकारीले आफ्नै एकजना कर्मचारीलाई प्राविधिक टोलीसँगै परिचालन गरेको छ । प्राविधिक टोलीलाई सहकारीकै प्रतिनिधिले किसानहरुको घरघर सम्म लैजाने काम गरिरहेको छ । सहकारीका अध्यक्ष राजेन्द्र ढुंगानाका अनुसार लम्पी स्किन महामारीका कारण आतिएका किसानहरुले ठूलो राहतको महशुस गर्न थालेका छन् ।

किसानहरुको पीडामा नगरपालिका सहयात्री बनेर उभिएको छ उनले भने –अहिले किसानहरु खुशी छन् नगरपालिकाको यो अभियानमा सहकारी सुरुवातनै देखिनै सँगै छ । कालिका नगरपालिका दुग्धमा आत्मनिर्भर पालिका भएकाले दुग्ध उत्पादन घट्न दिन नहुने तर्फ पालिकाले खेलेको भूमिका प्रशंसा गर्न योग्य रहेको सहकारीका अध्यक्ष ढुंगानाले बताए ।

कालिकामा दैनिक १२ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । नगरक्षेत्र भित्रका किसानहरुले पालेको पशुहरुको सुरक्षाका लागि नगरपालिका कहिलै पछाडि नपर्ने नगर प्रमुख विनोद रेग्मीले बताए । किसानको पशु सुरक्षण गर्ने जिम्मा नगरपालिकाको हो –‘ तपाईहरु ढुक्कसँग पशुपालनमा लाग्नुस’ नगर प्रमुख रेग्मीले भने । लम्पी स्किन महामारी विरुद्धको भ्याक्सिन मात्रै नभई पशुहरुमा लाग्ने अन्य रोगहरुको उपचारका लागि पनि नगरपालिकाले किसानलाई सघाउने उनले बताए ।

भ्याक्सिन सेवाको प्रभावकारिताबारे अनुगमन गर्न किसानको घर गोठमा पुगेका नगर प्रमुख रेग्मीले किसानलाई आवश्यकताका आधारमा पालिकाले सहयोगगर्दैै आएको बताए ।