स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुन पर्दैन : नगरप्रमुख सापकोटा

0
78

रत्ननगर, भदौ ०३- रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासीलाई अधिकतम स्वास्थ्यसेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताएका छन् । स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने बताउँदै आफ्नो अधिकार खोज्न नगरवासीले पनि चासो राख्नुपर्ने बताए ।

रत्ननगर—१६ स्थित पिठुवा स्वास्थ्यचौकीमा प्रयोगशाला उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले अस्पतालदेखि केही टाढा रहेको पिठुवाका वडावासीलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रयोगशाला स्थापना गरिएको बताउँदै प्रयोगशालामा मलेरिया, क्षयरोग, डेंगु, मधुमेह, थाइराइड, कोलेस्ट्रोल, कलेजोलगायत १४ प्रकारका परीक्षण निःशुल्करूपमा उपलब्ध गराउन स्वास्थ्यचौकीलाई निर्देशन दिए ।

नगरवासीलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन १६वटै वडाबाट स्वास्थ्यसेवा प्रदान गरिएको बताउँदै उनले गत वर्ष ३५ सय विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराइएकोमा यस आर्थिक वर्ष सात हजार परिवारलाई ५० प्रतिशत छूटमा स्वास्थ्य बिमा गराइने जानकारी दिए । स्वास्थ्य बिमाको पहुँचमा नपरेका असहाय, अपाङ्गता, गरिब व्यक्तिहरुको उपचारका लागि रत्ननगर बकुलहर अस्पतालमा ३० लाख रुपैयाँको विपन्न उपचार कोष स्थापना गरिएको उनले बताए ।

रत्ननगर नगरपालिकामा कुनै पनि कार्यक्रममा गर्दा मायाको चिनो र खादा निषेध गरिएको जानकारी दिँदै उनले अनावश्यक व्ययभार थपिने यस्ता कार्यक्रममा आफूले कुनै पनि मायाको चिनो नलिने घोषणा गरे । सबै वडामा सयपत्री फूललाई प्रवद्र्धन गर्नसमेत उनले आग्रह गरे ।

स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुन पर्दैन : नगरप्रमुख सापकोटा 1

हालै रोटरी क्लबको एक कार्यक्रममा आफूलाई प्रदान गरिन लागेको मायाको चिनोको १४ हजार रुपैयाँ मूल्यबराबरको रकम आयोजकबाट लिई चार घरपरिवारलाई निःशुल्क बिमा गराउन लागेको उनले जानकारी दिए । उनले भने, ‘रोटरीको कार्यक्रममा एउटा आकर्षक बुद्धको मूर्ति मायाको चिनो दिन लागिएको थियो । मैले त्यसको मूल्य सोधेँ १४ हजार पर्ने रहेछ । त्यो बराबरको रकम दिन माग गरेँ । र, चार परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराएँ ।’ कार्यक्रममा हुने फजुल खर्चबाट धेरै परिवारको स्वास्थ्य र शिक्षामा लगानी गर्न सकिने उनको भनाइ थियो ।

स्वास्थ्य र शिक्षाबाट कोही पनि वञ्चित हुन पर्दैन : नगरप्रमुख सापकोटा 2

कार्यक्रममा रत्ननगर—१६ का वडाध्यक्ष एवं पिठुवा स्वास्थ्यचौकी व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष हेमराज थापाले वडावासीको स्वास्थ्यसेवामा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुखको फजुल खर्च कटौती अभियानमा आफ्नो पनि साथ र समर्थन रहेको बताउँदै वडालाई समृद्ध बनाउन सबै वडावासीको हातेमालो आवश्यक रहेको बताए । कृषि उत्पादन, दुग्ध उत्पादन, शिक्षालगायत सडकको भौतिक प्रगति भइरहेको र अब तीन वटा बाटा र केही ठाउँमा तटबन्ध गर्न बाँकी रहेको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले नेपाल सरकारबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध भइरहेको बताउँदै विपन्न, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई घरघरमै आधारभूत स्वास्थ्यसेवा प्रदान गर्दै आएको जानकारी दिए । यस वर्ष टरौली स्वास्थ्यकेन्द्र र पिठुवा स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गरिएको र प्रत्येक वर्ष अन्य वडामा पनि सो सेवा पुर्‍याइने उनले बताए । उनले क्यान्सर, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपण र मेरुदण्ड पक्षघात भएका १५० जनालाई मासिक ५ हजार उपचार भत्ता वितरण गरिँदै आएको जानकारी दिए ।

पिठुवा स्वास्थ्यचौकीका प्रमुख विदुर बस्ताकोटीले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन तथा सञ्चालन समितिका उपाध्यक्ष एवं वडा सदस्य सरिता गुरूङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत बासुदेव सापकोटा, वडा सचिव जयन्ती रानाभाट, सिअनमी गीता रायमाझी, राजनीतिक दलका प्रतिनिधिहरु एवं वडावासीहरुको सहभागिता रहेको थियो ।