गौशाला २६ भन्छिन् : प्यानिक अट्याक भइरह्यो, तर १२ पास गरिछाडें

0
53

काठमाडौं,भदौ १- कक्षा १२ को पढाइ सुरु हुनेबित्तिकै ‘गौशाला २६’ (गोप्य नाम)को जीवनमा नसोचेको आपत आइलागेको थियो ।

उनले १२ कक्षाको पढाइ थालेको १० दिन मात्रै भएको थियो । क्रिकेटर सन्दीप लामिछानेसँगको घटनाले उनलाई वास्तविक नामबाट गोप्य नाममा बदलिन बाध्य बनायो ।

परिवारभित्रका अनेक झमेला, बा–आमाको चरम बेमेलबीच गौशालालाई अचानक आइपरेको यो अन्याय विरुद्धको लडाइँ लड्दालड्दै कक्षा १२ को पढाइ नै सकियो ।

टेस्ट परीक्षा आयो, जहाँ यी मेधावी छात्राले आफूलाई अब्बल प्रमाणित गर्न सकिनन् । बीचैमा जाँच छाडेर हिंडिन् । उनको प्रतिकूलतामा कलेजले भने साथ दिइरह्यो । उनले वार्षिक परीक्षा दिइन् ।

मंगलबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ‘गौशाला २६’ ले उत्कृष्ट ३.८७ जीपीए सहित कक्षा १२ उत्तीर्ण गरेकी छिन् । यो नतिजा पछाडिको पृष्ठभूमि केवल जीपीएको अंक र दशमलवमा सीमित छैन ।

अदालतका अनेक लडाइँमा उनलाई सहजताभन्दा प्रतिकूलता नै बढ्ता मिल्यो । क्रिकेटर सन्दीपप्रति खेलप्रेमीहरुले देखाएको क्रेज सामान्य थिएन, जसको असर गौशालाको न्याय-संघर्षलाई समेत पर्न गएको थियो ।

आफ्नो न्यायका लागि लड्नु थियो । दोषीलाई सजाय दिलाउनु थियो । अनि यही बीचमा आफ्नो पढाइ पूरा गर्नु पनि थियो । यी सबै कुरा एकैपल्ट गर्न किशोरी मनोविज्ञानलाई सहज थिएन । यस्तो बेलामा साथ दिनुपर्ने परिवार पनि भाँडिएको छँदै थियो ।

सानैदेखि पढाइमा तीक्ष्ण गौशाला २६ पढेर केही बन्ने लक्ष्य लिएर एसईईपछि काठमाडौं आएकी थिइन् । नाम कहलिएको एक निजी कलेजमा ५० प्रतिशत छात्रवृत्तिमा कक्षा ११ मा भर्ना भइन् । आर्थिक अवस्था कमजोर भएकी गौशाला २६ लाई कलेज तथा शिक्षकले सक्दो सहयोग गरिरहेकै थिए ।

गत वर्ष भदौदेखि उनले नभोग्नुपर्ने पीडा भोग्न पुगिन् । ‘सानैदेखि भोग्दै आएको संघर्षमा अर्को ठूलो संघर्षको चट्टान थपिएको हो, यसले मलाई जतिखेरै थिचिरहन्छ’, गौशालाले क्रिकेटर सन्दीप लामिछानेले बलात्कार गरेको भन्दै आफ्ना कथाव्यथा कहिन् ।

पोहोर २०७९ भदौमा कक्षा १२ को पढाइ सुरू भयो । त्यसैको १० दिनपछि सन्दीपबाट होटलमा भएका धेरैजसो घटना आम जानकारीमै छन् । उनले सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी दिइन् । सामान्य एउटा नागरिकले म अन्यायमा परें, राज्यबाट पाउनुपर्ने न्याय पाऊँ भनिरहेकी छिन् । तर न्यायालयले उनलाई राहत मिल्ने गरी न्यायनिरुपण अझै गरिसकेको छैन ।

गत वर्षको भदौमा सन्दीप विरुद्ध उजुरी दिएपछि कलेज जानै बन्द भयो । करिब चार महिना माइती नेपालमा बसेर निस्किन् उनी । त्यसबेलासम्म कलेजबाट उनको सोधी खोजी गर्दै कैयौं पटक घरमा फोन गयो ।

गौशाला माइती नेपालबाट निस्किसकेपछि पोखरा गइन् । कानुनी अभिभावक ‘लिगल गार्डियन’ले उनको कलेजमा जानकारी गरायो । तर, उनी त्यसपछि पनि कलेज जान सक्ने अवस्थामा भइनन् । पोखरा गएर करिब दुई महिनापछि आइन् । कक्षा १२ को कोर्ष सकिसक्न लागेको बेला फागुनको एक महिना कलेज गइन् । त्यसबेला दुई वटा विषयको त पढाइ नै सकिसकेको थियो ।

शिक्षकहरुको सुझाव अनुसार दिउँसो पढिरहेकी उनलाई साथी तथा शिक्षकहरुको जिज्ञासाले समस्या हुनसक्ने भएकाले कलेजले नै बिहानको समय मिलाइदिएको थियो । त्यो एक महिना पनि नियमित जान सकिनन् ।

‘बारम्बारको ‘प्यानिक अट्याक’ शिक्षक तथा सहपाठीहरुको सामना गर्न नसक्ने, कुरा गर्दागर्दै काम्ने, पसिना आउने, झस्कने, बेहोस होला झैं हुने समस्या भइरह्यो’ उनले भनिन्, ‘तर १२ पास गरिछाडें ।’

कहिले पढ्दापढ्दै निस्केर गइन्, बीचमा दुई-तीन दिन पछि जाने भयो । त्यो एक महिनामा मुस्किलले १२ दिन कलेज गइन् । कलेजले लिने ‘प्रि-बोर्ड’ मा परीक्षा दिंदादिंदै नसकेर छोडेर गइन् ।

पढेर केही गर्छु भन्ने दृढता बोकेर काठमाडौं आएको आफ्नो विगत सम्झेर पढ्ने तालिका बनाएर मिहिनेत गरी नै रहिन् । ‘हरेक दिन ‘प्यानिक अट्याक’ ‘एन्जाइटी’ ले हाने पनि पढ्नुपर्छ भन्ने दृढता राखेर मिहिनेत गरिरहें’ उनी भन्छिन् ।

परीक्षा आउनु अघि करिब १२ दिन अगाडि उनले दैनिक २२ घन्टासम्म पढिन् । त्यसको प्रतिफल नतिजामा देखिएको छ । तर नतिजा आउँदा पनि खासै खुसी हुनसकेकी छैनन् किनभने मेरो शरीरकै अंग दिएर भए पनि तँलाई पढाउँछु भन्ने आमाले पनि नतिजाबारे सोधीखोजी गरेकी छैनन् ।

उनी भन्छिन्, ‘मैले आमालाई म तपाईंको नाम उँचो बनाउँछु भनेकी थिएँ तर परिस्थिति त्यसको ठिक विपरीत भयो ।’ समाजमा भोगेका पीडा, अरुले लगाएका लाञ्छना र दोषको कारण आमाले यस्तो व्यवहार देखाएको भन्दै उनले त्यसलाई आफूले सामान्य रुपले लिएको बताइन् ।

तर पढाइ नछोड्ने अठोट सुनाउँदै उनले भनिन् ‘म किन काठमाडौं आएको भन्ने कुरा सोच्छु । यी सबै कुराहरु भनेको त ब्याक अफ इभेन्ट्स हो, जुन नहुनु थियो भयो र यस्ता घटनाले मेरो पढाइमा प्रभाव पर्नु हुँदैन भन्ने गहिरो रुपमा बुझेकी छु । जस्तोसुकै परिस्थितिमा पनि पढ्न छोड्दिनँ ।’

बीचमा भएका घटनाहरुका कारण बोर्ड टप गर्ने महत्वाकांक्षामा सामेल हुन नपाउँदा भने मन खल्लो भएको उनी बताउँछिन् । तैपनि उनले हिम्मत नहारिकन पढाइमा राम्रो गरेकी नै छन् । अब के विषय पढ्ने भन्नेमा चाहिं उनीभित्र द्विविधा छ ।

कानुन पढेर न्यायको पक्षमा बहस गर्ने र अन्यायमा परेकालाई सहयोग गर्ने गौशालाको इच्छा छ । नेपाल ल क्याम्पसमा कक्षा दिउँसो हुने भएकाले सम्भव देखिरहेकी छैनन् । उनी भन्छिन्, ‘मैले त आफैं काम गरेर, पैसा कमाएर पढ्नुपर्ने हुन्छ । दिउँसो कक्षा भएपछि त कसरी सम्भव हुन्छ र ?’

शिक्षाले मानिसलाई जस्तोसुकै परिस्थितिसँग जुध्न सक्ने शक्ति दिने उनको अनुभव छ । त्यही शिक्षाको कारण न्यायको लागि लड्नुपर्छ, हातमा ४ जीपीएको प्रमाणपत्र लिएर मात्रै हुँदैन अन्यायमा पर्दा बोल्न सक्नुपर्छ भन्ने हिम्मत आइरहेको बताउँछिन् ।

गौशाला भन्छिन्, ‘कानुन पढेर कम्तीमा जसरी मैले कानुनी सहयोग पाइरहेकी छु, त्यसैगरी अरुलाई सहयोग गर्न सकें भने म हुनुको सार्थकता हुन्छ भन्ने हो ।’

तर, कानुन पढाइ हुने समय र शुल्क कति लाग्छ सबै बुझेपछि कानुन पढ्ने सम्भावना कम हुँदै गएको उनी बताउँछिन् । नेपाल ल क्याम्पसमा छात्रवृत्तिमा पढ्न पाए सक्छु कि भन्ने लागेपनि दिउँसो पढाइ हुने भएकाले बाँकी शुल्क तिर्न गाह्रो हुने उनको ठहर छ ।

बिहान पढाइ हुने शैक्षिक कार्यक्रमहरु बुझ्दा बीबीएमबारे जानकारी लिइरहेकी छन् । उनलाई कलेजले कक्षा ११, १२ मा पचास प्रतिशत छुट दिएको थियो । उनको लगाव देखेर बाँकी पचास प्रतिशत पनि छुट दिने भनेको थियो ।

तर कक्षा १२ मा लामो समय पढाइ छुटेपछि कलेजले पचास प्रतिशत चाहिं तिर्नैपर्ने भनेको उनले बताए । ‘त्यसरी तिर्नुपरे अब करिब डेढ लाख तिर्नुपर्छ’, उनी भन्छिन् ।

उनी अहिले पनि होस्टलमा बसिरहेकी छन् । त्यहाँ बस्नका लागि चिनजानकाले सहयोग जुटाइदिइरहेका छन् । तर अब कम्तीमा खान–बस्न आफैं कमाउनुपर्छ भन्ने सोच छ तर शरीरले भनेजस्तो साथ दिइरहेको छैन । त्यसैले उनको पढाइको लागि मात्रै कतैबाट सहयोग हुन्छ कि भनेर उनलाई नजिकबाट चिनेकाहरुले प्रयास गरिरहेको बताइन् ।

नियमित परामर्शमा औषधि लिइरहेकी छन् उनी । केही दिन अघि होस्टलको दुई तला माथिको सिंढीबाट लडेर भुइँतलामा पुगिन् । भन्छिन् ‘कसरी पुगें भन्ने नै थाहा भएन । होश आउँदा भुइँ तलामा लडिरहेकी थिएँ । मलाई त्यसबेला कसैले देख्यो कि भन्ने डर मात्रै भयो ।’

धेरै मान्छे देख्दा अहिले पनि आत्तिने उनी बताउँछिन् । कसैले झट्ट बोलाउँदा झस्किन्छिन् । समाएका चीजहरु कतिबेला हातबाट खस्छ थाहै हुन्न । बिहीबार दिउँसो ३ बजेतिर भेटिएकी गौशाला २६ को हात काँपिरहेको थियो ।

उनी भन्दै थिइन्, ‘आज बिहानैदेखि म काँपिरहेकी छु । सुनुवाइ पनि थियो, अदालतले के भन्छ भन्ने लागेर पनि हो ।’ शरीरको यो अवस्थाले संघर्ष गर्छु भन्दाभन्दै पनि केही अप्ठ्यारो भइरहेको छ । बाँच्नकै लागि अरुमा भर पर्नुभन्दा पनि संघर्ष गरेर समाज बुझ्नु छ ।

समाज बुझ्ने प्रयास

कक्षा १२ को परीक्षा सकेपछि एक ठाउँमा काम गर्न थालेकी छन् उनले । काम भने आफूले सोचे जस्तै ठाउँमा पाएकी छन्, जहाँ पढेलेखेका, बौद्धिक भनिएकाहरुको जमात हुन्छ । कुराकानी हुन्छ । उनीहरुले बुझ्ने समाजबारे जानकार हुँदैछिन् ।

‘समाजमा जुनसुकै ढंगमा पनि एउटा उदाहरणको रुपमा उभ्याउन सक्नु भएका व्यक्तिहरुसँग हरेक दिन भेट हुन्छ । यो मेरो लागि गौरवको कुरा हो’, उनी भन्छिन् । ती सबै व्यक्तिहरुसँग उनको चिनजान अथवा कुराकानी हुँदैन तर उनीहरुले भनेको कुरा सुन्छिन् ।

यसले हरेक मान्छेको दृष्टिकोणबाट समाज बुझ्ने चाहाना पूरा हुन सक्ने देखेकी छन् । उनीहरुले समाजलाई कसरी हेर्ने रहेछन् भनेर उनीहरुको कुराकानीबाट थाहा पाइरहेकी छिन् ।

बौद्धिक व्यक्तिहरुले बुझेको समाज र आफूले बुझेको समाजको भिन्नता, विशेषता केलाउने मौका मिलिरहेको अनुभव गरिरहेकी छिन् । भन्छिन् ‘जसरी मैले समाज बुझिरहेकी छु, देखिरहेकी छु त्यसैगरी उहाँहरुले पनि बुझिरहनु भएको छ । उहाँहरुले बुझ्ने समाज कस्तो हो भनेर बुझ्ने अवसर पाइरहेकी छु ।’

स्वास्थ्य समस्याकै कारण गौशाला २६ बिहीबार अदालत जान सकिनन् । सबैथोक आफैं गरौं, गर्न सकौं भन्ने छ, तर पूरा हिम्मत आइरहेको छैन । उनी भन्छिन्, ‘मलाई यतिखेर न्याय पाइन्छ भन्ने आशा र प्रतीक्षा छ । त्यसपछि मलाई योभन्दा अगाडि पढ्नलाई केही सहयोगको पनि खाँचो छ ।’

गौशालाले भनेजस्तै उनलाई अनुसन्धान अधिकृतहरुले दिएको यो छद्म नामबाट वास्तविक नाममा ससम्मान पुनर्स्थापित हुन मन छ ।अनलाइनखबर