तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

0
44

चितवन,भदौ १- पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ ।

गाउँमा किसानले व्यावसायिकरुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन् । चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।

इच्छाकामना गाउँपालिका–३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो । उनी आफूले व्यावसायिकरुपमा लगाएको तरकारी बिक्रीका लागि नियमित रुपमा यस बजारमा आउने गर्छन् । तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उनले भने, “मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ ।” उनले यतिबेला तीन कट्ठामा जमिनमा गोलभेँडा लगाएका छन् । अहिले गोलभेँडाको भाउ पनि उच्च छ । आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उनी खुसी छन् ।

गोलभेँडा बेच्न फिस्लिङ झरेका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताए । उनीसँगै गाउँका अन्य किसानले पनि व्यावसायिकरुपमा तरकारीखेती गरेका छन् । अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन् । “मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ । हाम्रो कृषि समूह छ”, उनले भने, “समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ ।” उनले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउँछन् ।

फिस्लिङ सङ्कलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनीहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैयाँ दिने गर्दछन् । व्यापारीहरु तरकारी लिन काठमाडौंँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठाउँबाट आउने गर्छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी सङ्कलन केन्द्र स्थापना भएको बताउँछन् । केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता हटेको उनले बताए । “मैले आफैँ सुन्तलाखेती गरेको छु”, उनले भने, “यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु ।” उनले काम गर्ने किसानका लागि सङ्कलन केन्द्रले धेरै राहत प्रदान गरेको बताए । विगतको सम्झना गर्दै उनले भने, “सुनसान ठाउँ तरकारी सङ्कलन केन्द्रकै कारण चम्किएको छ ।”

यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बिक्रीका लागि आउने गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बिक्रीका लागि फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउँछन् । “यावसायिकरुपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो”, उनले भने, “गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ ।” उनले दुई रोपनीमा तरकारी खेती गर्दै आएका छन् । विगतमा उनले काठमाडौंँ र नारायणगढसम्म तरकारी बिक्रीका लागि लैजाने गर्थे । अहिले त्यो बाध्यता भने हटेको छ । यही व्यवसायबाट उनले छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् ।रासस