२०८२ वर्ष भित्र खैरहनी बालश्रममुक्त नगर !

0
49

खैरहनी,भदौ १- बालश्रम निवारणका लागि स्थानीय तहको भूमिका विषयमा शुक्रबार सरोकारवालाबीच खैरहनीमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको आयोजना तथा स्वतन्त्रता अभियानको सहकार्य र युथ क्लब नारायणढको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल सरकार र खैरहनी नगरपालिकाले वि.सं २०८२ भित्र बालश्रममुक्त गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार यहाँका जनप्रतिनिधिलाई जिम्मेवार बनाउनुका साथै योजना तर्जुमा गर्ने उद्देश्यले कार्यक्रम गरिएको युथ क्लब नारायणगढका उपाध्यक्ष दयाराम कँडेलले बताए । शिक्षा, स्वास्थ्य, सहभागितालगायतका विषयमा रहेर ५१ वटा सूचक पूरा गरेपछि बालश्रममुक्त नगर घोषणा गर्न सकिनेछ । त्यसका लागि अहिले नगरभित्र श्रमिक बालबालिकाको अवस्था संकलन गरेपछि उनीहरुको उद्धार र पुनस्र्थापना गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले बालश्रममुक्त अभियानका लागि नीतिगत व्यवस्था, राष्ट्रिय गुरूयोजनाका बारे जानकारी गराएका थिए ।

खैरहनी नगरपालिकाले बालश्रममुक्त नगर घोषणाका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।

नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कृष्णकुमारी गुरूङले बालश्रममुक्त नगर घोषणाका लागि बाल उद्धार कोष सञ्चालन कार्यविधि बनाएको, पुनस्र्थापना केन्द्र निर्माण गरेको, प्रत्येक वडा क्लब तथा नगरमा बाल सञ्जाल गठन गरेको जानकारी दिइन् ।

सो अवसरमा नगरप्रमुख शशिकुमार खनियाँले नेपाल सरकार र खैरहनी नगरपालिकाले लिएको लक्ष्यमा यहाँ सबै जनप्रतिनिधि र सरोकारवाला प्रतिबद्ध रहेको बताए । बालश्रममुक्त नगर घोषणा गर्न चुनौती रहे पनि राजमार्गछेउका होटल, रेस्टुरेन्ट, इँटाभट्टामा श्रमिक बालबालिकालाई श्रममुक्त गर्न एकजुट हुनुपर्ने उनले बताए । बाटोघाटो, पुल निर्माणलाई मात्र विकास भन्न नमिल्ने भन्दै प्रमुख खनियाँले सामाजिक विकास पनि गरेमा बालश्रममुक्त बनाउन सकिने धारणा राखे ।

उपप्रमुख कविता उप्रेती र खैरहनी–७ का वडा अध्यक्ष मनेजर महतोले बालश्रममुक्त बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु बानियाँ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।