रत्ननगर, साउन ३२- रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासका लागि गोठ–गोठमा भेटेरिनरी र खेत–खेतमा कृषि प्राविधिक सेवा सुरू गरेको छ । नगर गौरवको योजनाअन्तर्गत पशुको उपचार र अन्नबालीमा लाग्ने रोगको नियन्त्रणका लागि प्राविधिक सेवा सुरू गरिएको हो । किसानहरुले अनुदानभन्दा कृषि र पशु प्राविधिकको माग गरेपछि सो नगरपालिकाले चालू आर्थिक वर्षमा नगर गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेको थियो ।
वडा नं–८ को कार्यालयमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मेयर प्रलाद सापकोटाले प्राविधिक सेवाको उद्घाटन गरेका छन् । सो वडाका स्थानीय नित्यराज थपलियाको धानखेतीमा लागेको गभारो रोग र तीर्थराज रेग्मीको गोठमा रहेका पशुवस्तुको उपचार गरी सेवा शुभारम्भ गरिएको हो ।
सो अवसरमा मेयर सापकोटाले कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा सुरू गरिएको बताए । ७५ प्रतिशत नगरवासीहरु कृषिमा निर्भर रहेको भन्दै उनले कृषि र पशुपालनमा किसानलाई आत्मनिर्भर बनाउने बताए । ‘किसानलाई अनुदानभन्दा प्राविधिक आवश्यक रहेको हामीले महसुस ग¥यौँ’, उनले भने, ‘किसानको आवश्यकता पूरा गर्न गोठमा भेटेरिनरी र खेतमा कृषि प्राविधिक सेवा सुरू गरेका हौँ ।’ प्राविधिक सेवा सञ्चालनका लागि नगरपालिकाले चालू आवमा ८० लाख रूपैयाँ विनियोजन गरेको मेयर सापकोटाले जानकारी दिए ।
सो कार्यक्रमअन्तर्गत १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्नेछन् । प्राविधिक सेवा उपलब्धताका लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरी व्यवस्था मिलाइएको आर्थिक विकास समितिका अध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए ।
कृषितर्फ जैविक विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । पशुपालनतर्फ नगरपालिकाले नियमितरुपमा किसानलाई उपलब्ध गराउने छ । कृषिमा तीन जना र पशुमा तीन जना प्राविधिक टोली परिचालन गरिएको खरेलले बताए । नगरभित्र रहेका ८० प्रतिशत किसानहरु स्थानीय सरकारले प्रदान गर्ने सेवाबाट वञ्चित रहेको भन्दै उनले शतप्रतिशत किसानलाई सेवा दिने गरी प्राविधिक सेवा सुुरू गरिएको बताए ।
गोठ र खेतमा पुगेका प्राविधिकहरुले उपचारसँगै किसानलाई आवश्यक परामर्श सेवासमेत उपलब्ध गराउने छन् । पशुपालनतर्फ रत्ननगरमा एक सय १५ वटा गाई फार्म र २५ वटा व्यावसायिक भैँसी फार्म रहेका छन् । १५ हजार तीन सय गाई र छ हजार दुई सय ५० वटा भैँसी छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।
पशुपालनको विकास गरी दूध उत्पादन बढाउन घाँसमा प्रतिकट्ठा दुई हजार र दूधमा प्रतिलिटर एक रूपैयाँ अनुदान रकम वितरण गर्दै आएको सो नगरपालिकाले चालू आवबाट भेटेरिनरी सेवा सुरू गरेको पशु शाखा प्रमुख शालिग्राम पौडेलले बताए । नगरपालिकाभित्रका आठ हजार पशुवस्तुहरुलाई लम्की स्किनविरूद्धको खोप लगाइएको भन्दै उनले रत्ननगरमा यो रोगको सङ्क्रमण नियन्त्रणमा रहेको बताए ।
कृषितर्फ रत्ननगरमा १५ हजार किसानहरुले खेती गर्दै आएका छन् । यहाँ वार्षिक १० हजार मेट्रिक टन धान, ७ हजार मेट्रिक टन मकै, चार हजार मेट्रिक टन केरा, एक हजार मेट्रिक टन तोरी र ३० हजार मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको कृषि विकास अधिकृत प्रविन लामाले जानकारी दिए ।
वडा नं–८ का वडाध्यक्ष कृष्ण चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, राजेन्द्र घिमिरे, रामकुमार चौधरी, बालकृष्ण चापागाईं, किरण चौधरी, सजना महतो, अनन्त अधिकारी, सुवास घिमिरे, होमनाथ रानाभाट, सुन्दरमणि सुवेदी, हेमराज थापा, कार्यपालिका सदस्य देवेन्द्र भुजेललगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: