चितवन, साउन ३१- सरकारले भू–उपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपछि चितवनका घरजग्गा व्यवसायी उत्साहित भएका छन् ।
व्यवसाय घटेर बैँकको ऋण तिर्न पनि सकस भएको अवस्थामा कित्ताकाटको निर्णयले व्यवसाय बढ्ने आशा लिएर व्यवसायी उत्साहित भएका हुन् । स्थानीय तहले बनाएका कित्ताकाँटको नीति झन्झटपूर्ण भएकोले कारोबार सुस्ताएको व्यवसायीले बताएका छन् ।
चितवनका पुराना घरजग्गा व्यवसायी दिनेशकुमार चुकेले बिगतमा सरकारले कित्ताकाँट रोकेपछि विभिन्न नीति नियमको अवरोधको कारणले काम गर्न नसकेको बताए । उनले भने, ‘ कित्ताकाँट पुरानै अवस्थामा फर्किएको छ । अब खुलारुपमा काम गर्न सक्ने वातावरण बनेको छ । लचक खालको नीतिले अब यो व्यवसाय राम्रो हुने आशा गरेको छु ।’
चितवनका व्यवसायीहरुले बिगतको तीन वर्ष घरजग्गाको व्यापार निकै डामाडोलको अवस्थामा रहेको बताए । व्यवसायी चुकेले कतिपय व्यवसायीले बैँकको ऋणसम्म तिर्न नसकेर पेसाबाट पलायन भएको बताए । उनले अब घरजग्गा व्यवसायलाई पनि विकसित देशमा जस्तो शेयर कारोबार जस्तै बनाउनुपर्ने विचार राखे ।
२०७६ मा भू–उपयोग ऐन र २०७९ मा भू–उपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि ६ महिनाको समय दिएपनि उक्त अवधिमा केही स्थानीय तहबाहेक अधिकांशले जग्गा वर्गीकरण गर्न नसकेका कारण नागरिक र व्यवसायी प्रभावित बन्न पुगेका थिए । सरकारको कदमबाट नेपालको रियल इस्टेट क्षेत्र एवम् यसमा आश्रित व्यवसायीहरुका अतिरिक्त सर्वसाधारण समेतलाई निकै राहत मिल्ने बुझाइ व्यवसायीहरुको छ । यसले घरजग्गाको खरिद बिक्रीमा पारदर्शी व्यवहार भई सुशासन समेत अभिवृद्धि हुने चितवनका व्यवसायीको आशा छ ।
प्रकाशित मिति: