कालिकामा करिब २८ सय पशुलाई लगाइयो लम्पी स्किन रोगविरुद्धको भ्याक्सिन

0
25

कालिका , साउन ३०- पशुमा लाग्ने रोग लम्पी स्किन नियन्त्रणका लागि कालिका नगरपालिकाका दुई हजार ७९३ वटा पशुमा भ्याक्सिन (खोप) लगाइएको छ ।

कालिका नगरपालिकाको पशुसेवा शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार साउन २५ गतेदेखि प्राविधिक सहितको टोली नगरपालिकाको प्रत्येक वडामा पुगेर पशुहरुलाई भ्याक्सिन लगाएका हुन् । अहिलेसम्म कालिका नगरपालिकाको वडा नं १, ६ र ७ का पशुहरुमा भ्याक्सिन लगाई सकिएको छ भने वडा नं ८,९ र १० मा भ्याक्सिन लगाउने क्रम सुरु भएको छ ।

आजदेखि पदमपुर सेक्टरमा भ्याक्सिन लगाउन सुरु भएको पौडेलले बताए । कालिका नगरपालिकाको वडा नं २ बाट भ्याक्सिन लगाउन सुरु गरिएको हो । वडा कार्यालयसँगैको मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी भ्याक्सिन सेवाको बारेमा जानकारी समेत दिएको छ ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले पशुपालन गर्ने कृषकहरुका लागि नगरपालिकाले विभिन्न सेवा दिँदै आएको बताए। लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन भइरहेको निःशुल्क भ्याक्सिन सेवासँगै पशुमा लाग्ने अन्य रोगहरुको उपचार पनि निःशुल्क रुपमा गर्दै गएको उनले बताए ।

नगरभित्र पशुपालन गर्ने किसानहरुलाई पर्ने समस्याको विषयमा नगरपालिका अन्तर्गत पशुसेवा शाखा मार्फत स्थानीय तह सहयोगी बनेर उभिने उनले बताए । नगरपालिकाले दिँदै आएको सेवा सुविधाको विषयम किसानहरुले जानकारी पाउन नसक्दा सेवा सुविधावाट लाभ लिन नसकेको उनले भनाई छ ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले किसानहरुको पक्षमा स्थानीय तह सधै सक्रिय भएर लाग्ने बताए । देशैभर महामारीको रुपमा फैलिरहेको लम्पी स्किन विरुद्धको खोप लगाउन नगरपालिका सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा कालिका नगरपालिकाका पशु शाखा प्रमुख इश्वरी पौडेलले भदौ १० गते सम्म सबै किसानहरुको गोठमा पुगेर भ्याक्सिन सेवा दिइ सक्ने लक्ष्य रहेको बताए । आजवाट पदमपुर सेक्टर अन्तर्गत कालिका नगरपालिकाको वडा नं २,३,४, ५ मा भ्याक्सिन लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

१० जना प्राविधिक सहितको टोली कुनैपनि घर नछुट्ने गरी परिचालन भएका छन् । पदमपुरमा बिहीबारसम्ममा भ्याक्सिन लगाईसक्ने योजना छ । त्यसपछि कालिकाको वडा नं ११ तर्फ टोली परिचालन हुनेछ ।

प्राविधिक सहितको टोली घर–घरमै पुगेर गोठको अवस्था समेत निरीक्षण गरिरहेका छन् । नगरपालिकाले ८ हजार पशुलाई भ्याक्सीन लगाउने लक्ष्य लिएको छ । पशु शाखा प्रमुख पौडेलका अनुसार यो रोगको संक्रमणवाट नगरक्षेत्रमा ११ वटा गाई मरेका छन् ।