युवाहरुको पहिचान र परिचालन

0
23

काठमाडौं,साउन २९- युवाहरुलाई देश विकासको मेरूदण्ड मानिए पनि उनीहरुको पहिचान र अस्तित्वलाई हाल सम्मानजनकरुपमा लिइएको छैन । देशलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन युवाहरुको सहभागितालाई बढीभन्दा बढी उपयोग गर्नुपर्नेमा अहिले त्यसको अभाव प्रत्यक्ष देखिन्छ । युवाहरुको भूमिका केवल व्यक्तिको समृद्धिमा मात्रै परिलक्षित छैन, उनीहरुको दायित्व परिवारसँगै समुदाय, देश हुँदै समग्र विश्वकै विकासमा अहं बन्न पुगेको हुन्छ । यही भूमिकाकै कारण विकास निर्माणको सन्दर्भमा युवाहरुको शक्ति र ऊर्जालाई सबैभन्दा बढी जोड दिइएको पाइन्छ, जुन अहिले देशमा त्यस्तो सोच लगभग ओझेलमा छ । मूलतः युवाहरुले राख्ने आफ्ना माग र आवश्यकतालाई राज्यले राम्रोसँग सम्बोधन गर्न हेलचेक्र्याइँ गरेकै कारण देशबाट आज युवाहरुको पलायन बढ्दो क्रममा छ ।

जनसांख्यिकरुपबाट हेर्ने हो भने देशमा युवाहरुको हाल बाहुल्यता छ । शक्ति र सामथ्र्य उच्च रहेको त्यस्तो समूहको सही परिचालन हुन नसक्दा लाखौँको संख्यामा हाल रोजगारी खोज्दै विदेश भौँतारिन युवाहरु बाध्य भैरहेका छन् । हरेक दिनजसो हजारौँको संख्यामा युवाहरु कामका लागि विदेश गैरहने स्थिति राज्यका लागिसमेत लाजमर्दो अवस्था हो । रेमिट्यान्सको भरमा राज्य चलाउन खोज्ने निरीह सरकारले देशका लागि चाहिने युवा जनशक्तिलाई पलायन हुन बाध्य बनाइरहेको छ । पुराना उद्योगधन्दाहरु सबै बेचेर खाने र नयाँ उद्योगधन्दाहरु सञ्चालनमा उदासीनता प्रकट गर्ने अवस्थाकै कारण युवाहरुको भविष्य दिन प्रतिदिन धरापमा पर्दै गैरहेको छ । देशमा युवाहरुको यति राम्रो उपलब्धतालाई चिन्न नसक्नु र तिनको प्रयोग र उपयोगमा सक्दो ध्यान नदिनुले नै आज ठूलो अवसर प्राप्त हुँदाहुँदै पनि त्यसबाट वञ्चित हुनुपर्ने स्थिति आएको छ, जुन समग्र देशका लागि नोक्सानदेह साबित भैरहेको छ ।

कयौँ युवाहरु अहिले पनि सीपबिनाको अवस्थामा छन्, जसको रोजगार कुनै पहुँच छैन । दिगो विकासलाई प्रवद्र्धन गर्ने हो भने सीपबिना जीवननिर्वाह गर्न खोजिरहेका युवाहरुलाई सर्वप्रथम त्यो उपलब्ध गराउनुपर्छ । विशेषगरी, प्रकृतिमैत्री सीपहरुको पहुँचमा युवाहरुको संलग्नता बढेको छैन, बढाउनुपर्छ । प्रकृतिसँग नजिक हुनु भनेको उत्पादनमुखी अवस्थासँग जोडिनु हो, जसमा कृषि क्षेत्रको मह¤व सर्वाधिक छ । कृषि प्रणालीको रुपान्तरणले मात्र देश आत्मनिर्भर हुन सक्ने हुनाले धेरैभन्दा धेरै युवाहरुलाई त्यस प्रणालीसँग जोड्न आवश्यक छ । कृषि नै अर्थतन्त्रको मूल आधार भएको पक्षलाई राज्यले समेत महसुस गर्न नसक्नु विडम्बना हो । कृषि उत्पादन र त्यसको सुरक्षाले मात्र देश कृषिप्रधान हुनुको गौरव हासिल हुन सक्छ, जुन युवाहरुको परिचालनबिना सम्भवै छैन ।

युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरुमा रहेको शक्ति र ऊर्जाले असम्भव प्रतीत हुने कार्यले पनि सफलता हासिल गर्छ । युवाहरुमा जुन सोच र चेतना अवस्थित छ त्यसले देशको रुपरेखा नै कायापलत गर्न सक्छ । युवाबिनाको कल्पना किन पनि गर्न सकिँदैन भने बालबालिका र वृद्धवृद्धाले रुपान्तरणकारी भूमिका निर्वाह गर्न सक्दैनन् । तर, युवा सहभागिता अवसर निर्धारण गर्ने माध्यम बने पनि तिनलाई राज्यले सही तरिकाले परिचालन गर्न सकेन भने ती डरलाग्दो चुनौती पनि बन्छन् भन्ने तथ्य विगतदेखि हालसम्मका कयौँ घटनाक्रमले पुष्टि गरिसकेका छन् । त्यसैले पनि युवाहरुको पहिचान र उनीहरुलाई सुदृढीकरण गर्नुपर्ने अवस्था झन्झन् अपरिहार्य बन्दै गएको छ । समयले आधुनिक रुप र स्वरुप ग्रहण गर्दै अघि बढिसकेको हुनाले परम्परागत सोचले अब काम नै गर्न नसक्ने भएको छ । नव प्रवर्तनात्मक उपायको अवलम्बन गरेर परिवर्तनको सोचलाई सार्थक र सफल बनाउन युवाहरुको परिचालनजत्तिको विश्वसनीय माध्यम अरु हुनै सक्दैन भन्ने पक्षलाई मनन गर्न ढिला भैसकेको छ ।