भरतपुर,साउन २९- बागलुङ जिल्लाको साबिक छिस्ती गाविसबाट बसाइँ सरी आएकाहरुको संस्था छिस्ती चितवन सम्पर्क समाजले दोस्रो वार्षिक साधारण सभा भरतपुर–९, शरदपुरमा सम्पन्न गरेको छ । सभामा संस्थाले गरेका विभिन्न निर्णयहरु अनुमोदन गरेको छ ।
समाजका सचिव हरिप्रसाद पौड्यालले प्रगति प्रतिवेदन तथा समाजका कोषाध्यक्ष खुमराज ढकालले आयव्यय तथा आगामी वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं–११ का वडाध्यक्ष कमल मल्लले समाजका कार्यको प्रशंसा गर्दै आफ्नो पुख्र्यौली थलोलाई नबिर्सन आग्रह गरे । उनले कम्तीमा वर्षमा एकपटक पुख्र्यौली थलोमा पुग्ने र विकासका कार्यमा सहकार्य गर्नसमेत आग्रह गरे ।
समाजका सल्लाहकार समाजसेवी टंकनाथ पौडेलले समाजको भवन निर्माणका लागि संरक्षकत्व ग्रहण गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समाजले सिफारिस गर्ने जेहेनदार छात्रालाई मैयाँदेवी कन्या कलेजमा विशेष छात्रवृत्तिका लागि पहल गर्ने बचनसमेत दिए । उनले वर्षमा एकपटक ‘छिस्ती जाऊँ’ भन्ने अभियान चलाउनसमेत आग्रह गरे ।
समाजका सल्लाहकार एवं मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद पौडेलले समाजको विकासका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता जनाए । यस्तै, नारायण चालिसेले छिस्तीबाट चितवन हुँदै विदेश गएकाहरुलाई समेत जोड्नुपर्नेमा जोड दिए ।

संस्थाका सल्लाहकार भविश्वर शर्माले समाजका माध्यमबाट पुराना सम्बन्धहरु पुनर्जीवित बनेको बताए । समाजका अध्यक्ष ज्ञानहरि पौड्यालले समाजले प्रभावकारी कार्य गर्नका लागि सबै सदस्यको सहयोग आवश्यक रहेको बताए । उनले संस्थालाई बलियो बनाउन सकेमात्र समाजले अप्ठ्यारोमा परेकालाई सहयोग गर्न सकिने राय व्यक्त गरे ।
सभामा समाजका सदस्य परिवारका ८० वर्षभन्दामाथिका वृद्धवृद्धालाई सम्मान गरिएको थियो । साथै समाजका सदस्य परिवारबाट एसइईमा सर्वाधिक जिपिए ल्याउने एक/एक जना छात्रछात्रा र एक जना फरक क्षमता भएको विद्यार्थीलाई सम्मान गरिएको थियो । संस्थालाई आर्थिक तथा जिन्सी सामग्री सहयोग गर्ने सहयोगी संस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: