रत्ननगर, साउन २९- चितवनको टिकौली जंगलमा बर्दियाबाट कृष्णसार स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिकाले दिगो पर्यटन विकासको आधार तयार गर्न कृष्णसार ल्याउन थालेको हो । वन्यजन्तुमा आधारित चितवनको पर्यटनलाई थप विकास गर्न बर्दियाबाट १८ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइँदैछ ।

रङ्गशाला निर्माण गर्ने सरकारको योजना असफल भएपछि सोही स्थानमा रत्ननगर नगरपालिकाले कृष्णसार पाल्ने योजना बनाएको रत्ननगरका मेयर प्रलाद सापकोटाले बताए । टिकौलीमा कृष्णसार राख्न पूर्वाधार निर्माण गरी कागजी प्रक्रियासमेत पूरा भएको उनले बताए । आगामी मंसिरको पहिलो हप्ता बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रबाट चितवनमा कृष्णसार स्थानान्तरण गरिने मेयर सापकोटाले जानकारी दिए ।

कृष्णसार राख्न पञ्चकन्या सामुदायिक वनअन्तर्गत पर्ने टिकौली चौरको १९ दशमलब ८४ हेक्टर क्षेत्रफलमा मैदान बासस्थान, आहार व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण काम लगभग सकिएको छ । ६ वटा भाले र १२ वटा पोथी गरी १८ वटा कृष्णसार ल्याइँदै छ ।

वन्यजन्तुमा आधारित चितवनको पर्यटनको थप विकासका लागि कृष्णसार ल्याउन लागिएको उनले बताए । कृष्णसार रहेको खैरापुरस्थित संरक्षित क्षेत्रको बासस्थान, आहार र टिकौलीमा कृष्णसार राख्न तयार गरिएको बासस्थान र आहार मिल्दोजुल्दो रहेको हुँदा यसलाई बचाउन मुस्किल नहुने मेयर सापकोटाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट स्थानान्तरणका लागि कागजी प्रक्रिया पूरा भएको उनले बताए ।
कृष्णसार अवलोकन गर्न आउनेहरुका लागि टिकट घर, मचान, सुरक्षा गार्ड घर, फुटपाथ (पदमार्ग) निर्माणको काम बाँकी छ । कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ । कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ । पर्खाल, गेट, मेसजाली, घेराबार निर्माणसहित २०७८ देखि ०७९ सम्म १ करोड ५० लाखभन्दा बढी खर्च भएको नगरपालिकाले जनाएको छ ।

कृष्णसारलाई चाहिने आहारा बँगेरको रुख र अन्य घाँसपात यही वनमा प्रशस्त छन् । ‘कृष्णसारको मुख्य आहार दूबोको घाँस हो’, मेयर सापकोटाले भने, ‘टिकौलीमा दूबो र सिरू प्रशस्त छ । बाघ र चितुवाबाट बचाउन सोहीअनुसार पूर्वाधार निर्माण गरिएको छ ।’
बाघ र चितुवाले बाहिरी रुखमा चढेर मेसजालीभित्र हाम फालेर कृष्णसारलाई आक्रमण गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मेसजालीभन्दा १२ देखि १५ फिटबाहिर रहेका प्रत्येक रुखहरुको फेदबाट माथि ८ फिट हाइटसम्म सेतो प्लेनसिट लगाइने छ । कृष्णसारलाई पानीका लागि डिभिजन वन कार्यालय भरतपुर चितवनले १० लाखको लागतमा रोलार बोरिङसहित पोखरी निर्माण गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा कृष्णसार संरक्षण क्षेत्रका पूर्वप्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले टिकौलीमा कृष्णसार पाल्न सक्ने वातावरण रहेको बताए । ‘टिकौलीको जंगल क्षेत्र कृष्णसारका लागि बासस्थान र आहार मिल्ने देखियो’, उनले भने, ‘बाघ र चितुवाबाट जोगाउने गरी पूर्वाधार निर्माण हुन सके चितवनमा कृष्णसार जोगाउन मुस्किल छैन ।’

रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले टिकौलीमा ल्याइएका कृष्णसारलाई सौराहाको पर्यटनसँग जोड्ने योजना रहेको बताए । गैँडा र बाघ हेर्न सौराहा आउने पर्यटकले मंसिरपछि टिकौलीमा रहेको कृष्णसार पनि अवलोकन गर्न पाउने उनको भनाइ छ । कृष्णसारको आनीबानी, वायुमण्डलको तापक्रमसमेतलाई आधार मानेर अनुसन्धान गरिएको भन्दै उनले मर्न नदिन आवश्यक प्रक्रिया पूरा गरेको बताए । उपमेयर पाठकले कृष्णसारलाई स्थानीयको आयआर्जनसँग जोडेर आम्दानीको स्रोत सिर्जना गर्ने दोस्रो उद्देश्य रहेको बताए ।
कृष्णसार स्थानान्तरण गर्न तीन महिनामात्रै बाँकी रहँदा रत्ननगरका जनप्रतिनिधि र पञ्चकन्या सामुदायिक वनको टोलीले कृष्णसारको वस्तुगत अवलोकनसमेत गरेर फर्किएको छ । मेयर प्रलाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, संस्थापक मेयर नारायण वन, वडाध्यक्षहरु, पञ्चकन्या वनका अध्यक्ष कृष्णप्रसाद बगालेसहित पदाधिकारीहरुको टोलीले खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा सरकारले पालेका कृष्णसारको वस्तुगत अवलोकन गरेर फर्किएको हो ।
प्रकाशित मिति: