नारायणीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

0
21

चितवन, साउन २८- नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ ।

ब्यारेजमा ३ लाख क्युसेकसम्म पानीको प्रवाहलाई खतराको सूचक मानिने भए पनि ब्यारेज पुरानो भईसकेकाले सतर्कता अपनाइएको बताइएको छ ।

नारायणगढ पुलमै पानीको सतहले खतराको तह पार गरेको छ । नारायणी पुलमुनि पानीको सतह ११ मिटर पुगेपछि चेतावनीको तह मान्ने गरिएकोमा पानीको सतह ११ दशमलव १५ मिटर पुगेको छ ।

नारायणीमा पानीको सतह निकै माथि पुगेपछि चितनव, नवलपुर र नवलपरासी जिल्ला प्रशासनले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेका छन् ।