चितवन, साउन २८ – चितवनमा उत्पादित एसवाई प्यानल (प्री–फ्याब) घर बनाउन चाहिने सामग्री भारत निर्यात गरिएको छ ।
नेपालबाट पहिलोपटक एसवाई प्यानलका उत्पादन भारतीय बजारमा निर्यात गरिएको हो ।
चितवनको रत्ननगरस्थित पिठुवामा रहेको कोरियन कम्पनीले वाल प्यानल र रुफ प्यानल भारतको बजारमा निर्यात गरेको हो । फ्याक्ट्री डाइरेक्टर ली ह्याछुनले रिवन काटेर निर्यातको शुभारम्भ गरे । भारतको सिक्किममा प्री–फ्याब घर बनाउनका लागि उक्त प्यानल निर्यात गरिएको हो । त्यस ठाउँमा सामग्री पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ ।
पहिलो चरणमा १५ लाख बराबरको सामग्री पठाए पनि अन्य सामग्री पठाउने तयारी भइरहेको एसवाई प्यानलका निर्देशक विमलराज गोसाइँले जानकारी दिए । ‘हामीले निकै मेहनतका साथ यी सामग्री भारत निर्यात गर्न सफल भएका छौं, आगामि दिनमा सहजै अन्य सामग्रीहरु पनि निर्यात गर्दै जानेछौं’–गोसाइँले भने । उनले सुरुवाती चरणमा निर्यातका लागि केही प्रक्रिया पुरा गर्न समस्या भएपनि अब सबै काम सकिएकाले निर्यातलाई प्राथमिकतामा राखिने बताए ।
कोरियन कम्पनीको एसवाई प्यानल विगत ८ वर्षदेखि रत्ननगरमा संचालनमा रहेको छ । कम्पनीले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति: