लुम्बिनी प्रदेशमा २ लाख युवालाई रोजगारी दिन ४ अर्ब बजेट ल्याएको मुख्यमन्त्रीको दाबी

0
21

रुपन्देही, साउन २७ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको दुई वर्षमा प्रदेशका २ लाख युवालाई रोजगारी दिने गरी सरकारले कार्ययोजनासहित काम गरेको बताए ।

लुम्बिनी प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेरै आगामी २ वर्षमा २ लाख युवालाई रोजगारी दिने घोषणा गरिसकेको छ । त्यसलाई पूर्ण कार्यान्वयन गर्ने गरी सरकारले अहिलेदेखि नै योजना बनाएर काम अघि बढाएको पनि कार्यक्रममा बताए । उनले प्रदेशका गैरसरकारी संस्थालाई पनि एक्लै नहिँड्न सुझाव दिए ।

सरकारसँग सहकार्य गरेर अघि बढ्न निर्देशन दिँदै मुख्यमन्त्री चौधरीले विदेशमा पुगेका युवालाई स्वदेशमै राख्नु सरकारको दायित्व भएको पनि बताए । ‘त्यस्ता उद्यमशीलताको विकास गर्ने गरी युवा शक्ति अघि बढ्नु पर्ने उनले बताए ।लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले युवाको सक्रियता बिनाविकास सम्भव नभएको बताए । सरकारले युवाको विकास, परिचालन र अवसरका लागि लगानीको क्षेत्रमा काम गर्न तत्पर रहेको पनि जानकारी दिए । सरकारले युवाकेन्द्रित कार्यक्रम तयार गरेको र त्यसमा नीति क्षेत्रले पनि सहयोग गर्नुपर्ने उनले बताए ।कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा युवाहरुले उत्पादन गरेका कृषिजन्य सामग्री र सीपमूलक उत्पादन प्रदर्शन गरिएको थियो । युवाको विकासमा योगदान गर्ने एक दर्जन बढी विभिन्न क्षेत्रका युवाहरुलाई कार्यक्रमका अवसरमा सम्मान गरिएको थियो ।