रत्ननगर, साउन २६- रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम बिहीबार समापन गरिएको छ ।
स्वास्थ्य शाखाले नगर स्वास्थ्यकेन्द्र एवं नगर स्वास्थ्यचौकीसँगको समन्वयमा साउन २२ गतेदेखि २५ गतेसम्म १६ वटै वडाका ३२० वटा टोल विकास संस्थाका अध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमपश्चात् हरेक साताको एक दिन आआफ्नो टोलमा सरसफाइ कार्यक्रमका साथै लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान गर्ने प्रतिबद्धता जनाइएको छ ।
रत्ननगर–७ मा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले लामखुट्टेको टोकाइबाट बच्न र यसको वृद्धि विकास नियन्त्रण गर्नु नै डेंगु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय भएकोले हरेक नगरवासीले आफ्नो घर–घरबाट लामखुट्टेको सम्भावित बासस्थान नष्ट गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले डेंगु ज्वरो एडिस एजेप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस भएकाले घरवरपर रहेका पानी जम्ने खाडलहरु पुर्ने, झाडी सफा गर्ने, टायर, गमला, फूलदानी, प्लास्टिकका बट्टा तथा सफा पानी जम्ने स्थलहरुको राम्रोसँग सरसफाइ गर्न सकिए डेंगु रोगको नियन्त्रण गर्न सकिने बताए ।

डेंगु ज्वरोको जटिल रूप ‘डेंगु हेमोरेजिक फिभर’ले सङ्क्रमित मानिसको गम्भीर रक्तस्राप र रक्तचापमा गिरावट ल्याइ मृत्युसमेत निम्त्याउन सक्ने भएकाले सचेत हुन उनले आग्रह गरे ।
कार्यक्रममा रत्ननगर–७ का कार्यबाहक वडाध्यक्ष कुलप्रसाद आचार्यले आफ्नो वडाका १८ वटा टोलविकास संस्थामार्फत वडाका सबै स्थानमा लामखुट्टेको लार्भा खोजी नष्ट गर्न सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउँदै प्रत्येक शनिबार बिहान ७ बजेदेखि अभियान सुरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य शाखाका अहेव अधिकृत बासुदेव सापकोटाले डेंगु रोगबारे खेलाँची नगर्न आग्रह गरे । उनले भने, ‘गत वर्ष म स्वयं डेंगुबाट पीडित व्यक्ति हुँ । रोग लागेपछि सहन निकै गाह्रो हुँदो रहेछ । कमजोर व्यक्तिलाई झनै बढी प्रभाव पार्छ ।’ डेंगुको कुनै खोप र एन्टिबायोटिक औषधि नबनेकोले लामखुट्टेको टोकाइबाट बच्न र यसको बासस्थान नै नष्ट गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्य सूर्यबहादुर तामाङले डेंगु रोगबारे आफ्नो भोगाइ र अपनाउनुपर्ने सतर्कतासम्बन्धी प्रष्ट पारेका थिए । हरेक घरका व्यक्ति स्वयं सचेत नभएसम्म लामखुट्टेको लार्भा नष्ट गर्न नसकिने बताउँदै उनले साउनदेखि कात्तिक महिनासम्म लामखुट्टेको टोकाइबाट बच्दै यसको बासस्थान नष्ट गर्नुपर्नेमा जोड दिए । उनले विषादीको प्रयोगबाट मौरी, कीरा, फट्याङ्ग्राजस्ता मित्रजीवसमेत नष्ट हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकाले प्राकृतिकरूपबाटै लामखुट्टेको लार्भा नष्ट गर्न सुझाव दिए ।
कार्यक्रममा रत्ननगर–७ का नगर स्वास्थ्यकेन्द्र प्रमुख मनिता कार्कीले सहजीकरण गरेकी थिइन् । अभिमुखीकरणपश्चात् सचेतना र्यालीसहित रत्ननगर–७, चराचोकस्थित विभिन्न व्यावसायिक क्षेत्र एवं घरहरुमा लामखुट्टेको लार्भा खोजी नष्ट गरिएको थियो । वडामा सञ्चालित होटल तथा खाजा पसलहरुलाई पानी जम्न नदिन सचेत गराइएको थियो । कार्यक्रममा वडा सचिव बासुदेव रिजाल, अहेव विशाल सुनार, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसैगरी, बिहीबार नै रत्ननगर–१५ का सबै टोलविकास संस्थाका अध्यक्षहरुका लागि डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो । रत्ननगर–१५ मा सबै टोल विकास संस्थाले हप्ताको एक दिन लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेका वडाहरुमा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान जारी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
