‘बगान’को टोली चितवनमा, एकल महिलाले निःशुल्क हेर्न पाउने

0
78

भरतपुर , असार २३- असार २९ गतेबाट देशैभर प्रदर्शन हुन लागेको चलचित्र ‘बगान’को निर्माण पक्ष चितवन आइपुगेको छ । प्रचारप्रसारका लागि चलचित्र निर्माण गर्ने टोली आज यहाँ आइपुगेको हो । चलचित्र ‘बगान’ एकल महिलाले निःशुल्क हेर्न पाउने छन्। तर, त्यसको लागि परिचय पत्र आवश्यक पर्ने छ ।

चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्देशक सरोज खनालले एकल महिलाले कार्ड लिएर हलमा गएमा शुल्क नलाग्ने बताए ।
हरेक घरका महिलाको दुख, समस्या र त्यसको समाधान सहितको फिल्म प्रदर्शन गर्न लागेको उनले बताए। लामो समयसम्म चलचित्रमा अभिनय गरेका खनालले पहिलो पटक चलचित्रको निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै करिष्मा मानन्धरले ‘बगान’ले फिल्म क्षेत्रमा क्रान्ति गरेको बताइन् । सन्देशमुलक चलचित्र बनेकोले हलसम्म आएर हेरिदिन उनले आग्रह गरिन्।

निर्देशक सरोज खनाल र चलचित्रमा एकल महिलाको भूमिकामा देखिएकी करिष्मा मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको नव कलाकार प्रमिला कार्कीले बताइन् । आफु विश्वविद्यालयमा नै प्रवेश गरेको अनुभव गरेको उनले बताइन् ।

सुरेश वाग्लेको निर्माणमा बनेको फिल्ममा निर्देशक खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ।