रत्ननगर,जेठ ९- पूर्वी चितवनको रत्ननगर नगरपालिकामा गरिवी निवारणको लागि सञ्चालित सीप विकास कार्यक्रम प्रभावकारिताको विषयमा अनुगमन गरिएको छ ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा)ले सञ्चालन गरेको सिलाईकटाइ तथा व्यूटिपार्लर तालिमको अनुगमन गरिएको मेड्पाका कार्यक्रम संयोजक रामप्रसाद बस्ताकोटीले जानकारी दिए । मेड्पा अन्तर्गतको उद्यम विकास समितिका संयोजक तथा मेयर प्रल्हाद सापकोटाको नेतृत्वमा अनुगमन गरिएको हो ।
सो कार्यक्रम अन्तर्गत विपन्न समुदायका महिलाहरुलाई वडा नं २ टाँडीमा वडा नं ३, ८ र १४ का १८ जना महिलाहरुलाई तीन महिने आधारभूत सिलाईकटाई, वडा नं १५ मा ९ जनालाई आधारभूत तथा एडभान्स सिलाइकटाई र वडा नं १४ मा आधारभूत तालिम लिएका १४ जनालाई एडभान्स तालिम सञ्चालन भइरहेको छ ।
मेड्पा अन्तर्गतनै वडा नं ३,९ र १५ का ३० जना विपन्न महिलाहरुलाई तीन महिने व्यूटिपार्लर तालिम सञ्चालन भइरहेको कार्यक्रम संयोजक बस्ताकोटीले जानकारी दिए । अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, आर्थिक विकास समिति संयोजक सोहेन्द्रराज खरेल, प्रशासन शाखा प्रमुख सविता अर्याल, उद्यम विकास समितिका सदस्यहरु शारदा न्यौपाने र रिता काप्री लगायतको सहभागिता रहेको थियो ।
