खैरहनी , जेठ ६ – आर्थिक अवस्था कमजोर भएका छात्राहरुको शिक्षामा समानताका लागि खैरहनी नगरपालिकाले यो वर्षदेखि छात्रवृत्ति प्रदान गर्न सुरू गरेको छ । सामुदायिक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने छात्राहरुलाई पढाइमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गरिएको हो ।
शिक्षामा समान पहुँच कायम गर्ने उद्देश्यले सुरू गरिएको यो कार्यक्रममा स्नातक तहमा अध्ययन गर्ने थारु, दलित, अल्पसंख्यक, अपाङ्ग तथा अतिविपन्न परिवारभित्रका आर्थिक अवस्था कमजोर भएका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले बताए । पहिलो चरणमा सात जना छात्राहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।
खैरहनीभित्र रहेको एकमात्र सामुदायिक क्याम्पस भुवानीशंकर बहुमुखी क्याम्पससँग छात्रवृत्तिका लागि सम्झौता गरिएको छ । यो कार्यक्रममा छात्राहरु मात्र आबद्ध हुनेछन् । ‘आर्थिक अवस्थाकै कारण कतिपय छात्राहरु उच्च शिक्षाबाट वञ्चित छन्’, नगरप्रमुख खनियाँले भने, ‘नगरले तोकेको लक्षितवर्गको शिक्षामा समान पहुँच पुर्याउन छात्रवृत्तिले भूमिका खेल्ने विश्वास छ ।’
नगरप्रमुख खनियाँले निर्वाचित भएपछि पदबहाली गरेको दिन थारु, दलित, अल्पसंख्यक, अपाङ्ग तथा अतिविपन्न परिवारभित्रका आर्थिक अवस्था कमजोर भएका परिवारका छात्राहरुको शिक्षामा समान पहुँच कायम गर्ने गरी त्यस्ता वर्गलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका थिए । पदभार ग्रहण गरेकै दिन बसेको पहिलो कार्यपालिका बैठकले समेत नगरप्रमुखले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।
छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति कोषसमेत नगरपालिकाले बनाएको छ । भुवानीशंकर बहुमुखी क्याम्पससँग शुक्रबार गरिएको सम्झौता पहिलो वर्षका लागि हो । अर्को वर्ष थप सम्झौता गरी छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले चार वर्षसम्म पढाइमा लाग्ने कुनै पनि खर्च व्योहोर्नु नपर्ने नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।
नगरप्रमुख खनियाँको कार्यकक्षमा भएको सम्झौता कार्यक्रममा उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्मा, नगर शिक्षा अधिकारी बानियाँ, क्याम्पस प्रतिनिधि र विद्यार्थीहरु सहभागी थिए । सम्झौताअनुसार ती विद्यार्थीको पढाइमा लाग्ने कुल खर्चमध्ये नगरपालिकाले ९० प्रतिशत र क्याम्पसले १० प्रतिशत व्योहोर्नुपर्ने नगर शिक्षा अधिकारी बानियाँले बताए । नियमित छात्रवृत्ति प्राप्तिका लागि ती विद्यार्थी उत्तीर्ण हुँदै जानुपर्ने सम्झौतामा लेखिएको छ । विद्यार्थी उत्तीर्ण नभए छात्रवृत्ति दिइएको मान्यता नहुने भएकाले यो मापदण्ड तोकिएको नगर शिक्षा अधिकारी बानियाँले बताए ।
‘सम्झौतामा पनि उल्लेख छ, विद्यार्थीलाई पनि बोलाएर यसबारे भनेका छौँ’, नगर शिक्षा अधिकारी बानियाँले भने, ‘विद्यार्थीलाई लगनशील र मिहिनेतका साथ पढ्न यो मापदण्ड आवश्यक छ, नभए छात्रवृत्तिको मान्यता हुँदैन ।’
नगरपालिकाले सूचना जारी गरेर छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो । आवेदन दिएकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । मापदण्डअनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी खैरहनी नगरपालिकाको बासिन्दा हुनुपर्ने, विपन्न भएको प्रमाणित वडा कार्यालयले सिफारिस गर्नुपर्ने, तोकिएको क्याम्पसमा पढेको प्रमाणित हुनुपर्नेछ । स्नातक तहको पहिलो वर्ष पढाइका लागि ती विद्यार्थीले शुल्क तिरिसकेको भए क्याम्पसले फिर्ता गर्नुपर्ने नगर शिक्षा अधिकारी बानियाँले बताए ।
प्रकाशित मिति: