रत्ननगर, जेठ ४– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले २५ सय बढी विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगर गौरवको योजना अन्तर्गत चालु आर्थिक बर्षमा २ हजार ५०३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिए ।
निर्वाचित भएर कार्यभार सम्हालेको दिन मेयर सापकोटाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयलाई पहिलो नगर सभाबाट पारित गरी ३ हजार ५०० विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने लक्ष्य तय गरिएको थियो । नगर सभाले निःशुल्क स्वास्थ्य बिमाको लागि एक करोड २० लाख रुपैया समेत विनियोजन गरेको थियो । आर्थिक अभावका कारण विपन्न समुदाय स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस भनेर नगर गौरवको योजना अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा गरिएको मेयर सापकोटाले बताए ।
‘आर्थिक अभावका कारण कसैको ज्यान जानु हुँदैन’ उनले भने ‘नगरबासीको जीवन रक्षाको जिम्मेवारी स्थानीय सरकारको पनि हो’ । स्वास्थ्य बिमा गरेका परिवारले बकुलहर रत्ननगर अस्पतालमा उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ । थप उपचारको लागि अन्य अस्पताल जानु परे रिफर गरेर विरामी लैजान सकिने भएकाले स्वास्थ्य बिमाको उपचारको लागि तोकिएका जुनसुकै अस्पतालमा पनि उपचार गर्न सकिने गरी बिमा गरिएको छ । वडाबाट सिफारिस भएर आएका परिवारको स्वास्थ्य बिमा गरिएको हो ।
स्वास्थ्य बिमाको लागि वडामा दिएको निवेदनका आधारमा छानविन गरी बास्तविक विपन्नको पहिचान गरी नगरपालिकाको स्वास्थ्य शाखा विवरण पठाउन भनिएको थियो । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका परिवारको पहिचान गरी स्वास्थ्य बिमा गरिएको मेयर सापकोटाले बताए । वडागत रुपमा सबैभन्दा धेरै वडा नं १४ का २९६ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
वडा नं १ का ७०, वडा नं २ का ५४, वडा नं ३ का २२१, वडा नं ४ का १५९, वडा नं ५ का १३३, वडा नं ६ का १३७, वडा नं ७ का २०६, वडा नं ८ का १७२, वडा नं ९ का १८६, वडा नं १० का ११३, वडा नं ११ का २०४, वडा नं १२ का १९५, वडा नं १३ का ३७, वडा नं १५ का १४२ र वडा नं १६ का १५१ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
स्वास्थ्य बिमाको लागि नगरपालिकाले प्रतिपरिवार लाग्ने शुल्क ३ हजार ५०० रुपैया भुक्तानी गरेको छ । २ हजार ५०३ परिवारको स्वास्थ्य बिमाको लागि ८७ लाख ६० हजार ५०० रुपैया खर्च भएको सुवेदीले जानकारी दिए । सो नगरपालिकाले नगर भित्रका विपन्न परिवारको उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा विपन्न उपचार कोष निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
३० लाखको उक्त कोषबाट एउटा विरामीले अधिकतम १० हजार सम्म उपचार खर्च पाउने कार्यविधि बनाइएको मेयर सापकोटाले बताए । अभिभावक नभएका, विहान बेलुका छाकटार्न सकेन मुश्किल हुने नगरबासीहरुलाई लक्षित गरी कोष निर्माण गरिएको मेयर सापकोटाले बताए । विपन्न उपचारकोषबाट अहिले सम्म १५० बढी विरामीले सुविधा लिएका छन् । सो नगरपालिकाले ज्येष्ठ नागरिकको उपचारको लागि घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम गरिरहेको छ ।
नगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकको दीर्घरोगको उपचार र औषधि समेत वितरण गर्दै आइएको छ । बकुलहर रत्ननगर अस्पतालले प्रदान गर्ने सेवा पछिल्लो समय प्रभावकारी बन्दै गइरहेको छ । सो अस्पताल प्रति जनविश्वास बढ्दै जादा रत्ननगर नगरपालिकाले सोही अस्पताल परिसरमा मातृशिशु अस्पताल सञ्चालनको लागि भवन निर्माण गरिरहेको छ ।
प्रकाशित मिति: