पोखरा महानगरभित्रका पेट्रोल पम्प अनुगमन

0
58

कास्की,जेठ २ – पोखरा महानगरपालिकाले पेट्रोल पम्प अनुगमन गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आज पोखरा महानगरभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल स्टोर्स, मालेपाटनको सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक तथा पोखरा महानगरपालिकाकी उमप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिए। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका अधिकारी सहभागी थिए ।

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नवीकरण भए नभएको अनुगमन गरिएको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताए । “अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला परेन”, पौडेलले भने । उनका अनुसार केही पेट्रोल पम्प महानगरमा विना दर्ता सञ्चालन भएको पाइएको छ । उनीहरुलाई महानगरमा दर्ता गर्न निर्देशन दिएको उनले बताए ।