मोटर स्पोटर्स प्रतियोगितामा आशिष भारती प्रथम

0
59

चितवन,बैशाख ३१- नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसीएसन (काडा )को संयुक्त आयोजनामा भएको अटो जिमखाना प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार र शनिबार भएको मोटर स्पोर्टस प्रतियोगितामा आशिष भारती प्रथम भएका छन् ।


त्यस्तै फेलिक्स सिंह भान दोस्रो र दिग्वीजय सिंह अधिकारी तेस्रो हुन सफल भएका छन् । प्रतियोगितामा २१ खेलाडी सहभागी थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश २७ हजार, ९ हजार र ३ हजार नगद सहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो ।

भरतपुर नगरपालिकाका प्रमुख रेणु दाहालले विजेतालाई पुरस्कार,मेडलसहित प्रमाणपत्र प्रदान गरेकी थिईन ।

प्रतियोगितामा प्रथम हुने भारतीले भरतपुर महानगरपालिका वडा नं. २९ चौकी डांँडा स्थित हिमालय फ्रन्टियर्सले सञ्चालनमा ल्याएको पाराग्लाइडिङ्ग निःशुल्क समेत गर्न पाउनेछन ।

सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाका चितवनलाई साहसिक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने अभियानमा यस्ता खेलले सहयोग पुग्ने बताईन ।

पछिल्लो समय महानगरले खेलका गतिविधिलाई समेत प्राथमिकता दिदै आएकोले यसले पर्यटन प्रर्वद्धनमा नयांँ आयाम थपिने उनको भनाई छ । यस प्रतियोगितामा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

च्याम्पीयनसिपका विजेता १ जना पुरुष तथा महिला बाट १ जनाले (वेष्ट टाइमिङ्गको आधारमा)आगामी नोभेम्बरमा ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पीयनसिपमा सहभागिको अवसर प्राप्त गर्नेछन ।

प्रतियोगिताको प्राविधिक कार्यको लागी नासा नेपालका दक्ष मार्शलहरुको उपस्थिति रहेको थियो । यो चितवनकै पहिलो रोमाञ्चक र साहसिक अटो जिमखाना प्रतियोगिता हो ।

प्रतियोगितामा सहयोगी संस्थाहरु उद्योगवाणिज्य संघ,चितवन र रोटरी , लुम्बिनी ईन्सुरेन्स , एलाइभ हस्पिटल र मैदान उपलब्ध महालक्ष्मी ड्राईभिङ्ग सेन्टरले खेल मैदान उपलब्ध गराएको थियो ।